M’Cheyne Bible Reading Plan
अन्तमा साराको निम्ति एउटा बालक
21 परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। 2 सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। 3 साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। 4 परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
5 अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। 6 अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। 7 कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
घरैमा कष्ट
8 इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए। 9 एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्। 10 साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए। 12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ। 13 तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। ऊ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्।
15 केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। 16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।
17 परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। 18 जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”
19 परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।
20 जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो। 21 उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरुभूमिमा बसो-बास गर्न थाल्यो।
अबीमेलेकसित अब्राहामको सन्धि
22 त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ। 23 यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”
24 अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।” 25 तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।
26 तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”
27 यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेंडाहरू र गाई वस्तुहरू दिए। 28 अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।
29 अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”
30 अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”
31 यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।
32 यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।
33 अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो सधैँ जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे। 34 अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै बर्षसम्म पलिश्तीहरूको देशमा बसे।
खेतालाहरूको उखान
20 “स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। 2 उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।
3 “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो 4 ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ 5 त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए।
“फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। 6 फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’
7 “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’
“उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’
8 “जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’
9 “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। 10 त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। 11 जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। 12 खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’
13 “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? 14 यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। 15 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’
16 “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”
येशूले आफ्नै मृत्युको कुरा गर्नु हुन्छ
(मर्कूस 10:32-34; लूका 18:31-34)
17 येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, 18 “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्। 19 तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”
आमाको विन्ती छोराहरूको निम्ति
(मर्कूस 10:35-45)
20 तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्।
21 येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”
उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।”
22 अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”
तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”
23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”
24 अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। 25 येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। 26 तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। 27 यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। 28 मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
दुइजना अन्धाहरू निको भए
(मर्कूस 10:46-52; लूका 18:35-43)
29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। 30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
10 अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए:
लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह, 2 सारयाह, अजर्याह, यिर्मयाह, 3 पशहूर, अमयाह, मल्कियाह, 4 हत्तूश, शबन्याह, भल्लूह, 5 हारीम, मरेमोत, ओबदियाह। 6 दानियल, गिन्नतोन, बारूक, 7 मशुल्लाम, अजर्याह मियामीन, 8 माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।
9 यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरेः
अजन्याहका छोरा येशूअ, हेनाददको छोरा-छोरीहरू बिन्नूइ, कदमीएल, 10 अनि तिनीहरूका सँगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान, 11 मीका, रहोब, हशब्याह, 12 जक्कूर, शेरेब्याह, शबन्याह, 13 होदियाह, बानी अनि बनीनू।
14 यी मानिसहरूका अगुवाहरू हुन् जसले सन्धी हस्ताक्षर गरेः
परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, 15 बन्नी, अज्गाद, बवै, 16 अदोनियाह, बिग्बै, आदीन, 17 आतेर, हिज्कियाह, अज्जूर, 18 होदियाह, हाशूम, बेसै, 19 हारीत, अनातोत, नोबै, 20 मग्पीआश, मशुल्लाम, हेजीर, 21 मशेजबेल, सादोक, यद्दु, 22 पलत्याह, हानान, अनायाह, 23 होशे, हनन्याह, हश्शूब, 24 हल्लोहेश, पिल्हा, शेबेक, 25 रहूम, हशब्ना, मासेयाह, 26 अहियाह, हानान, आनान। 27 मल्लूक, हारीम, अनि बाना।
28-29 बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा-छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त, तिनीहरूका अगुवाहरूसँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।
30 “हामी वचन दिन्छौं कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।
31 “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं बर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।
32 “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति बर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं। 33 त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।
34 “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक बर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।
35 “हामीहरूले पनि प्रत्येक बर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।
36 “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेंडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।
37 “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन् जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौं खण्ड सँग्रह गर्छन्। 38 अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश सँग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्। 39 किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वाररक्षकहरू अनि गवैयाहरू छन्।
“हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”
पावल म्यासिडोनिया र ग्रीस जाँदछन्
20 जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसँग विदा लिएर म्यासिडोनिया गए। 2 म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए। 3 उनी त्यहाँ तीन महीना बसे।
उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दैथे, तर उनको विरुद्धमा केही यहूदीहरूले षड्यन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए। 4 कतिपय मानिसहरू उनीसँग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए। 5 तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा पर्खिए। 6 अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौं। हामी त्यहाँ सात दिन बस्यौं।
त्रोआसमा पावलको अन्तिम यात्रा
7 सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसँग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे। 8 हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौं। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो। 9 त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको झ्यालबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब ऊ मरिसकेको थियो।
10 पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।” 11 पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए। 12 मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।
त्रोआसदेखि मिलेटसको यात्रा
13 हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसँग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए। 14 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ। 15 हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापू पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं। 16 पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोष पर्वमा यरूशलेममा हुन चाहन्थे।
पावल एफिससवासी बुज्रुकहरूसँग बोल्छन्
17 मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।
18 जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसँग जति समय बिताँए, म कस्तो प्रकारले बसें। 19 तर यहूदीहरूले मेरो विरुद्ध धेरै षडयन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गरें। 20 मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाएँ। 21 मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिवर्त गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।
22 “तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिन त्यहाँ मेरो के गति हुन्छ। 23 म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई पर्खिरहेको छ। 24 म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।
25 “अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसँग सधैँ थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने। 26 यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन! 27 म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो। 28 तिमीहरू आफैं र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ। 29 म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू क्रुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्। 30 तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बङ्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्। 31 यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसँग तीन वर्ष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।
32 “अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ। 33 मैले कहिल्यै पनि आफ्नो लागि कसैको पैसा र लुगाहरू चाहिनँ। 34 तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसँग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें। 35 मैले तिमीहरूलाई सधैँ म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।’”
36 जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे। 37-38 तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्। तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।
© 2004, 2010 Bible League International