Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 19

लूतका पाहुनाहरू

19 साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखे र भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे। तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यहीं बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”

ती स्वर्गदूतहरूले भने, “अँहँ हामी बाटोमै रात बिताउनेछौं।”

तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।

तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे। तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”

तब लूत बाहिर निस्केर घरको ढोका लगाए। त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर। सुन, कुनै पुरूषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”

घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।

10 तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने। 11 त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

सदोमबाट भागे

12 तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाँईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोड्नु भनीदेऊ, 13 शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”

14 तब लूत बाहिर गए अनि आफ्नो ज्वाँईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाँईहरूले सोचे उनी ठट्टा गरिरहेका छन्।

15 अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”

16 तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो। 17 यसर्थ ती दुइ स्वर्गदूतहरूले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फर्केर नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”

18 तर लूतले ती दुइ स्वर्गदूतहरूलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग्न मलाई कर नलगाउनु होस्। 19 म तपाईंको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गएँ भने? म मर्ने छु। 20 हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”

21 स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन। 22 तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुगुन्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ सोअर हो।)

सदोम र गमोराको विनाश

23 घाम झुल्कँदै गर्दा लूत सोअर शहरभित्र पस्दै थिए। 24 त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो। 25 यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।

26 जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्।

27 त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए। 28 अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयङ्कर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो।

29 त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।

लूत अनि तिनका छोरीहरू

30 लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए। 31 एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कहीं पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन। 32 यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊँ र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौं।”

33 त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।

34 अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।” 35 त्यस राती ती दुइ बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताए अनि सानी चाँहि छोरी उनको ओछ्यानमा गई र सहवास गरी। तर फेरि लूत यति साह्रो मातेका थिए कति बेला को केटी उनको ओछ्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।

36 लूतका दुबै छोरीहरू गर्भवती भए अनि तिनीहरूका पिता तिनीहरूको नानीहरूका पिता थिए। 37 जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्। 38 सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।

मत्ती 18

येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?

(मर्कूस 9:33-37; लूका 9:46-48)

18 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”

येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।

“यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।

पापको बारेमा चेताउनी

(मर्कूस 9:42-48; लूका 17:1-2)

“यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

“यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।

हराएको भेंडा़को उखान

(लूका 15:3-7)

10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। 11 [a] परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।

12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? 13 अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु। 14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।

जब कसैले गल्ती गर्छ

(लूका 17:3)

15 “यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ। 16 यदि उसले सुन्न अस्वीकार गर्यो भने अरू एक वा दुइ मानिसहरूलाई ल्याऊ जसमा ती दुइ वा तीन साक्षीहरूले त्यहाँ जे जति कुरा भए ती प्रमाणित गर्नेछन्। 17 यदि उसले तिनीहरूका कुरा पनि सुन्न मानेन् भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाइ परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर।

18 “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। 19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ। 20 यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”

क्षमाको उखान

21 त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”

22 येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”

23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। 24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। 25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।

26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ 27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।

28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’

29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’

30 “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। 31 अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए।

32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। 33 मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’ 34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।

35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”

नहेम्याह 8

एज्राले व्यस्थाको किताब पढे

समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो। यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो। एज्राले व्यवस्थाको पुस्तकलाई पानी-मुलढोका अघिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरूष, स्त्री अनि अन्य सबैले बुझ्न सक्नें गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने।

शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।

एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोल्दा सबै मानिसहरू उभिए। एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।

लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए। तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गरे।

नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

10 उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”

11 लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।”

12 त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सब मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो।

13 महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए।

14-15 तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ, अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरूशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहंदी, खजुर अनि पातहरू भएका अन्य बृक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए झैं आश्रय छाप्राहरू बनाउनु।”

16 यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलढोका चोक एप्रेम मूल ढोकाको। 17 सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।

18 उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तक बाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौं दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।

प्रेरित 18

कोरिन्थमा पावल

18 पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए। तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए। तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरूसँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे।

प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे। सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए। तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एकदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछु।”

पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो। क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारगरेको सु-समचारमा बिस्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।

राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसँग बोलिरहौ! नरोक! 10 म तिमीसँग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।” 11 पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।

पावललाई गल्लियो सामु ल्याइयो

12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। 13 यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!”

14 पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ। 15 तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।” 16 तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।

17 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।

पावल एन्टिओक फर्के

18 पावल दाज्यू-भाइहरूसँग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए। 19 त्यसपछि तिनीहरू एफिसस्‌मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्‌मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसँग बात गरे। 20 तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्। 21 पावलले विदा लिएर हिँड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।

22 पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे। 23 त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।

अपोल्लस एफिसस र अखैयामा

24 अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो। 25 उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे। 26 उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

27 अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्यूभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे। अखैयामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने। 28 उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International