M’Cheyne Bible Reading Plan
तीनजना पाहुनाहरू
18 पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए। 2 अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे। 3 अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्। 4 म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्। 5 म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।”
तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”
6 अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाँडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।” 7 तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए। 8 अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यहीं उभिरहे।
9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”
अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”
10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”
साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्। 11 अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो। 12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”
13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। 14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
15 तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्।
तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”
16 तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए।
परमेश्वरसित अब्राहामको अर्न्तबिन्ती
17 परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ? 18 अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्। 19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा ऊ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”
20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। 21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”
22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। 23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? 24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ? 25 साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रम्हाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”
26 तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”
27 तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ 28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि मैले पैंतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”
29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”
30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसँग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”
परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”
31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्त पार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”
32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसँग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”
33 जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।
येशू मोशा र एलियासँग देखिनु हुन्छ
(मर्कूस 9:2-13; लूका 9:28-36)
17 त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। 2 तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। 3 तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।
4 पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”
5 जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
6 चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। 7 तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” 8 चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।
9 येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”
10 चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”
11 येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्। 12 तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।” 13 तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।
येशूले रोगी केटोलाई निको पार्नुहुन्छ
(मर्कूस 9:14-29; लूका 9:37-43a)
14 येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। 15 त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। 16 मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”
17 येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” 18 येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।
19 तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?”
20 येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।” 21 [a]
येशू आफ्नो मृत्यु बारे चर्चा गर्नुहुन्छ
(मर्कूस 9:30-32; लूका 9:43b-45)
22 त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ। 23 ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुःखीत भए।
येशूद्वारा महसूल तिर्ने बारे शिक्षा
24 येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, “के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”
25 पत्रुसले जवाफदिए, “हो, येशूले ती करहरू तिर्नुहुन्छ।”
त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अघिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”
26 पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।”
येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन। 27 तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”
7 जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरें। 2 तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक ईमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे। 3 मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुन्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”
फर्केर आएका कैदिहरूको सूची
4 यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माण घरहरू प्रशस्त थिएनन्। 5 यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण[a] पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।
6 यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) 7 तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः
8 परोशका कुलहरू | 2,172 |
9 शपत्याहका कुलहरू | 372 |
10 आरहका कुलहरू | 652 |
11 पहात-मोआबका कुलहरू अर्थात येशूअ अनि योआबका कुलहरू | 2,818 |
12 एलामका कुलहरू | 1,254 |
13 जत्तूका कुलहरू | 845 |
14 जक्कैका कुलहरू | 760 |
15 बिन्नूईका कुलहरू | 648 |
16 बेबैका कुलहरू | 628 |
17 अज्गादका कुलहरू | 2,322 |
18 अबोनीकामका कुलहरू | 667 |
19 बिग्बैका कुलहरू | 2,067 |
20 अदीनका कुलहरू | 655 |
21 आतेरका अर्थात हिज्याहका कुलहरू | 98 |
22 हशूमका कुलहरू | 328 |
23 बेसैका कुलहरू | 324 |
24 हारीमका कुलहरू | 112 |
25 गिबोनका कुलहरू | 95 |
26 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू | 188 |
27 अनातोत शहरका मानिसहरू | 128 |
28 अज्मावेत शहरका मानिसहरू | 42 |
29 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू | 743 |
30 रामा अनि नेबा शहरहरूका मानिसहरू | 621 |
31 मिक्मास शहरका मानिसहरू | 122 |
32 बेतेल अनि ऐ शहरहरूका मानिसहरू | 123 |
33 अर्को नेबो शहरको मानिसहरू | 52 |
34 अर्को एलाम शहरको मानिसहरू | 1,254 |
35 हारीम शहरका मानिसहरू | 320 |
36 यरीहो शहरका मानिसहरू | 345 |
37 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू | 721 |
38 सना शहरका मानिसहरू | 3,930 |
39 पूजाहारीहरूः
यदायाहका कुलहरू अर्थात | 973 |
40 इम्मेरका कुलहरू | 1,052 |
41 पशहूरका कुलहरू | 1,247 |
42 आरीमका कुलहरू | 1,017 |
43 लेवीहरूः
येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल | 74 |
44 गवैयाहरूः
आसापका कुलहरू | 148 |
45 द्वारपालहरूः
शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू | 138 |
46 मन्दिरका सेवकहरूः
सीहा, हसूपा, तब्बाओत।
47 केरोस, सीआ, पादोन।
48 लबान, हगाबा, सल्मै।
49 हानान, गिदूदेलका, गहर।
50 रायाह, रसीन, नेकादा।
51 गज्जाम, उज्जा, पसेह।
52 बेसै, मुनीम, नापीश।
53 बक्बुक, हकूपा, हर्हूर।
54 बस्लीत, महीदा हर्शा।
55 बर्कोस, सीसरा, तेमह।
56 नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन्।
57 सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा
58 याला, दर्कोन, गिददेल।
59 शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।
60 शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू | 392 |
61 मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अद्दोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।
62 दलायह, तोबियाह अनि नकोदाका कुलहरू | 642 |
63 पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बर्जिलैका सन्तानहरू थिए।
(त्यो मानिसहरू जसले गिलादबाटको बर्जिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।)
64 तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। 65 प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।
66-67 सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। 68-69 त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए।
70 केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। 71 केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। 72 अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।
73 जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।
थिस्सलोनिकामा पावल र सिलास
17 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो। 2 पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैँ झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे। 3 पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। पावलले भने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।” 4 कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससँग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससँग सामेल भए।
5 तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिंड्थे भाड़ामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैला-बैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे। 6 तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खड़ा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे! 7 जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”
8 शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए। 9 तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।
पावल र सिलास बिरिया तिर जान्छन्
10 त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए। 11 यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे। 12 तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।
13 तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे। 14 यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे। 15 विश्वासीहरू जो पावलसँग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”
एथेन्समा पावल
16 पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो। 17 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसँग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे। 18 त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शनिकहरूसँग निक्कै विचार-विमर्ष भयो।
तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”
19 तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ? 20 यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ। हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।” 21 एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।
22 त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु। 23 म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!
24 “उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धर्ती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्न! 25 उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसँग छन्। 26 परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।
27 “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न। 28 ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः ‘हामी उहाँकै बालकहरू मात्र हौं।’
29 “हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न। 30 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ। 31 परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसँग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”
32 जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौं।” 33 पावल तिनीहरूबाट गए। 34 तर कतिपय मानिसहरूले पावलसँग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।
© 2004, 2010 Bible League International