M’Cheyne Bible Reading Plan
मानिसहरू दुष्ट हुन्छन्
6 पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। 2 परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।
3 तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।”
4 यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।
5 परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। 6 अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। 7 तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”
8 तर नूहले परमप्रभुलाई खुशी तुल्याए।
नूह र महा-जलप्रलय
9 यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। 10 नूहका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए।
11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए। 12 परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।
13 तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। 14 तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।
15 “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र 16 त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु।
17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। 18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। 19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। 20 जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्। 21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।”
22 परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।
येशूद्वारा दान दिने बारे शिक्षा
6 “होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।
2 “जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। 3 तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्। 4 तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
येशूद्वारा प्रार्थना बारे शिक्षा
(लूका 11:2-4)
5 “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। 6 जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।
7 “जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। 8 त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। 9 यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:
‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’[a]
14 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।
येशूद्वारा उपवास बारे शिक्षा
16 “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। 17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। 18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।
धन-सम्पत्तिभन्दा परमेश्वर महान् हुनुहुन्छ
(लूका 12:33-34; 11:34-36; 16:13)
19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। 20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। 21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।
22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। 23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।
24 “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।
परमेश्वको राज्यमा पहिले आऊ
(लूका 12:22-34)
25 “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। 26 आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। 27 फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन।
28 “अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्। 29 तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। 30 यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो।
31 “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ 32 परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। 33 तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ, 34 जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।
दाराको आदेश
6 तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे। 2 तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोः
स्मारिकाः 3 राजा कोरेसको प्रथम बर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए।
मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्। 4 यसको उचाइ 90 फीट चौंडाई 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ। 5 परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।
6 अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहाँबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ। 7 यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ।
8 अब, परमेश्वरको त्यो मन्दिर को पुन:र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ त्यस सम्बन्धमा यो आदेश दिन्छु; परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पूर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि 9 तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेंडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्। 10 ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।
11 म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई भग्नावशेषको राश तुल्याउनु पर्छ।
12 आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।
म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानी पूर्वक चाँडो पालन गरियोस्।
मन्दिरको निर्माको समाप्ति र समर्पण
13 तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे। 14 यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा 15 अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौं बर्षको[a] अदार[b] महीनाको तेस्रो दिन पूर्ण गरियो।
16 त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै हर्षसाथ मनाए।
17 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेंडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे। 18 तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।
निस्तार चाड
19 यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए। 20 किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहूदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे। 21 कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए। 22 तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको[c] मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।
विशेष कामको लागि सातजना चुनिए
6 धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।
2 यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन। 3 यसैले दाज्यू-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं। 4 यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”
5 चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहूदी भएका थिए। 6 त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।
7 परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।
स्तिफनसको विरुद्ध यहूदीहरू
8 स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। 9 तर कतिपय यूहीहरू आए अनि स्तिफनसँग तर्क गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसँग बहस गरे। 10 तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्।
11 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” 12 यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।
13 तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। 14 नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।” 15 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
© 2004, 2010 Bible League International