M’Cheyne Bible Reading Plan
यहूदाका राजा योताम
27 योताम राजा हुँदा पच्चीस बर्षका थिए। तिनले यरूशलेममा सोह्र बर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्। 2 योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराम्रा काम लगातार गरिरहे। 3 योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे। 4 योतामले यहूदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गढहरू अनि किल्लाहरू निर्माण गरे। 5 योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक बर्ष तीन बर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000 मुरी[a] गहुँ अनि 10,000 मुरी जौं दिए।
6 योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे। 7 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 8 योताम पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। 9 तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।
आहाज यहूदाका राजा
28 आहाज बीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो। 2 आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुशरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे। 3 आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए। 4 आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।
5-6 आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे। पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए। 7 जिंक्री एप्रैमका एक साहसी सैनिक थिए। जिंक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।
8 इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए। 9 तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ। 10 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ। 11 मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”
12 तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए। 13 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”
14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए। 15 ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।
16-17 त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे। एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अश्शूरका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे। 18 पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।
19 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए। 20 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए। 21 आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।
22 आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए। 23 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।
24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना-कुनामा राखे। 25 यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।
26 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्। 27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।
मुक्त व्यक्तिको गीत
14 त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।
2 अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो। 3 मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।
4 यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए। 5 यी मानिसहरूले कहिल्यै झूटो बोलेनन्। तिनीहरू दोषरहित थिए।
तीन स्वर्गदूतहरू
6 तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरू प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो! 7 त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
8 तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुशरण गर्यो अनि भन्यो, “ऊ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”
9 तेस्रो स्वर्गदूतले पहिलो दुइ स्वर्गदूतहरूको अनुशरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ। 10 त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ। 11 अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।” 12 यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।
13 तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।”
आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”
पृथ्वीको फसल
14 मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया। 15 तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।” 16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।
17 तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो। 18 त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अंङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरू पाकेका छन्।” 19 त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए। 20 नगर बाहिर दाखदानीमा अङ्गूरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुइ सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।
परमप्रभुको प्रतिज्ञा
10 वसन्त ऋतुमा बर्षाको निम्ति परमप्रभुसँग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
2 मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेंडा़हरू जस्तै सहायताको निम्ति यता उता भट्की हिँड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
3 परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)
4 “कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ। 5 तिनीहरूले आफ्नो शत्रुलाई हराउनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्। 6 म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु। 7 एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसँग आनन्द मनाउँनेछन्।
8 “म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ। 9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्। 10 म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।” 11 यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति नष्ट गरिदिनुभयो। 12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।
येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो
13 यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2 येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। 3 पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। 4 जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। 5 तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6 येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7 येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।”
8 पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”
येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9 शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।”
10 येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” 11 येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12 येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? 13 तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। 14 तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। 15 मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। 16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
18 “मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः ‘जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।’ 19 अब यसो हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घट्नेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ। 20 यसर्थ म साँच्चो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
येशूले धोखा दिनेको विषयमा भन्नुहुन्छ
(मत्ती 26:20-25; मर्कूस 14:17-21; लूका 22:21-23)
21 जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँच्चो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”
22 येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो। 23 उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो। 24 शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
25 त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”
26 येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो। 27 जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!” 28 भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्। 29 यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
30 यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।
येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ
31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
येशूले भन्नुहुन्छ कि पत्रुसले उहाँलाई इनकार गर्नेछ
(मत्ती 26:31-35; मर्कूस 14:27-31; लूका 22:31-34)
36 शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”
येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37 पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38 येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँच्चो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”
© 2004, 2010 Bible League International