M’Cheyne Bible Reading Plan
योआशले फेरि मन्दिर निर्माण गर्छन्
24 योआश सात बर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्। 2 योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे। 3 यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।
4 तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे। 5 योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति बर्ष तिर्ने धन सँग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।
6 यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”
7 विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।
8 राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे। 9 तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो। 10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन। 11 तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यसकै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन सँग्रह गरे। 12 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।
13 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए। 14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।
15 यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 बर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो। 16 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।
17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने। 18 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए। 19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।
20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’”
21 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुन्जेल मानिसहरूले तिनलाई ढुङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे। 22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
23 बर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए। 24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए। 25 जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
26 ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्। 27 योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू सम्बन्धी व्याख्या नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।
दुइ साक्षीहरू
11 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। 2 तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। 3 अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।”
4 यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। 5 यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। 6 यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्।
7 जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। 8 ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। 9 हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। 10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए।
11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। 12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे।
13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे।
14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।
सातौं तुरही बज्यो
15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने,
“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।
अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”
16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। 17 ती अग्रजहरूले भने,
“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ।
तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।
हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो
अनि शासन गर्नु शुरु गर्नुभयो।
18 संसारका राष्ट्रहरू क्रोधित थिए,
तर अब तपाईंको क्रोधित हुने समय हो।
अब, मृत मानिसहरूको न्याय गर्ने समय हो।
अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो,
अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो,
ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।
यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”
19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
परमप्रभु दया र करूणा चाहनु हुन्छ
7 फरसमा दाराको राज्यकालको चौथो बर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन (किसलेबको महिना) थियो। 2 बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसँग एउटा प्रश्न सोध्न पठाए। 3 तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति बर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक बर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”
4 सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो, 5 “पूजाहारी अनि देशका सबै मानिसहरूलाई भन, ‘उपवास र विलाप तिमीहरूले सत्तरी बर्ष देखी बर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन! 6 जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।’ 7 यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो? अँहँ, होइन। उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगेव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”
8 जकरियालाई परमप्रभुले यो वचन दिनु भयोः
9 “सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो,
‘तिमीहरूलाई जे सत्य र उचित लाग्छ त्यही गर्नु पर्छ।
तिमीहरू एक अर्काप्रति दयालु
र करूणामय हुनु पर्छ।
10 बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी
अथवा गरीव मानिसहरूलाई चोट पुर्याउनु हुँदैन।
एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।’”
11 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे
जे उहाँले गर्न चाहनु हुन्थ्यो।
तिनीहरूले आफ्ना कान बन्द गरे
जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
12 तिनीहरू हट्ठी थिए।
तिनीहरूले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे।
आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले
अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरूलाई वचन पठाउँनुभयो।
तर मानिसहरूले त्यो सुनेनन्,
यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
13 यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो,
“मैले तिनीहरूलाई बोलाएँ,
तर तिनीहरूले उत्तर दिएनन्,
यसकारण अब मलाई तिनीहरूले बोलाए पनि
म तिनीहरूलाई उत्तर दिनेछैन।
14 म अब तिनीहरूलाई एउटा आँधी-बेहरीले झैं
तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु।
जब तिनीहरू यो देश भएर जान्छन्
तिनीहरूले छोडे को भूमि उजाड हुनेछ।
त्यो सुन्दर भूमि नष्ट हुनेछ।”
भेंडा़वाला र उसको भेडो
10 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब कुनै पनि एक मानिस भेंडा़-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो। 2 तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो। 3 जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेंडा़ले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेंडा़हरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्। 4 गोठालाले सबै भेंड़ाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगुवाई गर्दछ। भेंडा़हरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्। 5 भेंडा़हरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”
6 यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।
येशू असल गोठालो हुन्
7 येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। 8 जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। 9 म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। 10 एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
11 “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। 12 पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। 13 किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन।
14-15 “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। 16 मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। 17 मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। 18 मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”
19 फेरि यहूदीहरू आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो। 20 धेरै यहूदीहरूले भने, “भूतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
21 तर अन्य यहूदीहरूले भने, “भूतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भूतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अँहँ!”
येशूको विरुद्ध यहूदीहरू
22 यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड़[a] पनि आयो। 23 येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो। 24 यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”
25 येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। 26 तिमीहरू तर विश्वास गर्दैनौ। किनभने तिमीहरू मेरा भेंडा़हरू होइनौ। 27 मेरो भेंडा़हरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। 28 म मेरा भेंडा़हरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन। 29 मेरा पिताले मेरो भेंडा़ मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेंडा़ खोसेर लान सक्तैन। 30 पिता र म एकै हौं।”
31 फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। 32 तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”
33 यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
34 येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।’(A) 35 यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्र सधैँ सत्य छ। 36 यसर्थ तिमीहरू मलाई किन भन्छौ, तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो। 37 यदि मैले मेरा पिताको कामहरू गर्दिन भने मलाई विश्वास नगर। 38 तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
39 यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।
40 त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए। 41 येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँच्चो थियो।” 42 अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।
© 2004, 2010 Bible League International