Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 21

21 तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए। योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए। यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए।

योराम, यहूदाका राजा

योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्‌लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे। योराम बत्तीस बर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ बर्ष यरूशलेममा शासन गरे। तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाँचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेर परमप्रभुको दृष्टिमा नराम्रो काम गरे। तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।

योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफैं चुने। यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे। 10 त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। 11 योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए।

12 योरामले एलिया अगमवक्ताबाट एउटा संन्देश पाए। संन्देशमा यो भनिएको छः

“परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, ‘योराम, तँ तेरा पिता यहोशापात जुन प्रकारले बसे त्यस प्रकारले बसिनस्। तँ त्यस प्रकारले बसिनस् जुन प्रकारले यहूदाका राजा आसा बसे। 13 तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए। 14 यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ। 15 तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन्-झन् नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।’”

16 परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो। 17 ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज[a] थियो।

18 ती घट्नाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिंदैन थियो। 19 तब दुइ बर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्। 20 योराम बत्तीस बर्षका थिए जब तिनी राजा भए। तिनले आठ बर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखीत भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।

प्रकाश 9

पाँचौं तुरही बज्छ

पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।

ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। 10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। 11 ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन[a] थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।

छैठौं तुरही बज्यो

13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें। 14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” 15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। 16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।

17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। 18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। 19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।

20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। 21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।

जकरिया 5

उडिरहेको पत्रको दर्शन

तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें। स्वर्गदूतले मलाई सोधे, “तिमीले के देख्यौ?”

मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झूटो बोल्ने मानिसहरूको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरूले शपथ लिन्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘म यो पत्रलाई चोरहरूको घर अनि झूटा मानिसहरूको घरमा पठाउनेछु। जसले झूटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरू नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।’”

स्त्री अनि बाल्टी

त्यस समयमा मसँग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”

मैले भनें, “यो के हो?”

उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बोकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरू नाप्न बनिएको हो।”

बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ। तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिएँ अनि सिसाले छोपी दिएँ। तब मैले मेरो आँखा खोलें अनि दुइजना स्त्रीहरू तिनीहरूको पखेंटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरूको पखेंटाहरू सारसको जस्तै थिए। तिनीहरूले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे। 10 तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”

11 स्वर्गदूतले मलाई भनें, “तिनीहरू शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहेका छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”

यूहन्ना 8

येशू जैतून डाँडामा जानुभयो। बिहानै येशू मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।

शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिररहेको बेला समातिएकी थिई। ती यहूदीहरूले त्यस आइमाईलाई बलजफ्ती जनसमूह समक्ष ल्याए। तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई। मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?”

यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो। यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्।” तब फेरि येशू निहुँरनु भयो र जमीनमा लेख्नु भयो।

जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसँग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई। 10 येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?”

11 उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।”

तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”

येशू, संसारको ज्योति

12 त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।”

13 तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफैं आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”

14 येशूले जवाफ दिनुभयो, “हो, मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु। 15 तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय गर्दिनँ। 16 तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। 17 तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुइ जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ। 18 म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”

19 मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?”

येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।” 20 येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्रेनन्। येशूको ठीक समय अझ आइपुगेको थिएन।

येशूको विषयमा यहूदीहरूले बुझेनन्

21 फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”

22 तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैंलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ’?”

23 तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर म माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन। 24 मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”

25 यहूदीहरूले सोधे, “तब तिमी को हौ?”

येशूले जवाफ दिनुभयो, “शुरुदेखि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ। 26 तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”

27 येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो। 28 यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरेहछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो। 29 परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।” 30 जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।

येशूले मुक्त हुने विषय बताउनु हुन्छ

31 तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ। 32 तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”

33 यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”

34 येशूले जवाफ दिनुभयो, “म साँच्चो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो। 35 दास सदैव मालिकको परिवारसँग बस्दैन। तर छोरो सधैँ परिवारसँग बस्छ। 36 यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ। 37 म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ। 38 म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”

39 यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”

येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे। 40 म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्। 41 तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।”

तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।”

42 येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो। 43 तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ। 44 तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैँ सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूटो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो।

45 “म साँच्चो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46 म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ? 47 जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”

येशूले आफ्नै र अब्राहामको विषयमा भन्नुहुन्छ

48 यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?”

49 येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। 50 म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। 51 म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”

52 यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’ 53 के तिमी आफैंलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”

54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ। 55 तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झूटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु। 56 तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।”

57 यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 र्वष पनि पुगेका छैनौ!”

58 येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँच्चो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अघिबाट म छँदै छ्।” 59 जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International