M’Cheyne Bible Reading Plan
आसाका अन्तिम बर्षहरू
16 आसाका राज्य कालका छत्तीसौं बर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे। 2 आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो। 3 “बेनहदद, तिमी अनि म माझ एक सन्धि होस्। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस्, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजासँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस् जसद्वारा तिनले मलाई एक्लो छाडने छन् अनि मलाई दिकदारी दिन बन्द गर्ने छन्।”
4 बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु सँग्रह गरिएको थिए। 5 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए। 6 तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित गराए। तिनीहरू रामा शहरमा गए ढुङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।
7 त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए। 8 कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो। 9 परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
10 आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।
11 आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 12 आसा राजा भएको उन्चालीस बर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे। 13 आफ्नो राज्य कालको एकचालीसौं बर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुर्खाहरूसित गाडिए। 14 मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरूद्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।
5 तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठ्ठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो। 2 अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?” 3 तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो। 4 म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन। 5 तर अग्रजहरू मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”
6 तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्माहरू हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए। 7 तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो। 8 जब भेंड़ाको पाठोले त्यो बेह्रिएको पत्र लियो ती चार सजीव पशुहरू अनि चौबीस जना अग्रजहरू भेंडा़को पाठोको समक्ष निहुरिए। तिनीहरू प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरू परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्। 9 अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए:
“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन
अनि त्यसको मोहर खोल्न योग्य छौ,
किनभने तिमी मारिएका थियौ,
अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति
हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ।
10 यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ।
अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।”
11 तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। 12 ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने:
“त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम,
उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।”
13 तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें,
“उहाँ एक जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडा़को पाठाप्रति,
सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहुन्।”
14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।
परमप्रभु अफ्ना मानिसहरूलाई फेरि फर्काउन चाहनु हुन्छ
1 बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो बर्षको आठौं महिनामा आएको थियो। (जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छः
2 परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो। 3 यसर्थ तिमीहरूले मानिसहरूलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरूकहाँ फर्केर आउँनेछु।”
4 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाहरू जस्तो नबन बितेका समयमा अगमवक्ताहरू तिनीहरूसित कुरा गर्थे। तिनीहरूले भने, ‘तिमीहरूले आफ्नो नराम्रो कु-कर्महरू छोडिदेऊ।’ तर तिमीहरूका पुर्खाहरूले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
5 परमप्रभुले भन्नुभयो, “तिमीहरूका पिता-पुर्खाहरू मरिसके अनि अगमवक्ताहरू सधैँ बाँचिरहँदैनन्। 6 अगमवक्ताहरू मेरा सेवकहरू थिए। मैले उनीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूलाई मेरो व्यावस्था अनि शिक्षाहरूको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरूका पिता-पुर्खाहरूले शिक्षाहरू ग्रहण गरे। तिनीहरूले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरूले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”
घोडाहरूको दर्शन
7 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। (जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः
8 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखें। त्यो बेंसीमा मेहेंदीको रूखहरूको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरू पनि थिए। 9 मैले सोधें, “यी घोडाहरू के को निम्ति, परमप्रभु?”
त्यस समय मसँग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरू के को निम्ति हुन्।”
10 त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरू पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”
11 त्यतिबेला घोडाहरूले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसँग कुरा गरे। उनीहरूले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”
12 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरूलाई सत्तरी बर्ष सम्म क्रोध देखाउँनु भयो।”
13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो। 14 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसँग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरूलाई यी सबै कुराहरू बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ:
“यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।
15 म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु,
जसले आफू अति सुरक्षित अनुभव गर्छ,
म अधिक क्रोधित भएको थिएँ,
अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि,
ती जातिहरूको प्रयोग गरें।
तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”
16 यसकारण, परमप्रभु भन्नुहुन्छ,
“म यरूशलेममा कृपा सहित जान्छु।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ
अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।”
17 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन,
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
‘मेरो शहरमा फेरि उन्नति हुनेछ,
परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ,
उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’”
सींङहरूको दर्शन
18 तब मैले माथि हेरें अनि चारवटा सींङको दर्शन पाएँ। 19 अनि मैले मसँग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरूको दर्शन के हो?”
उनले भने, “यी ती सींङहरू हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरूलाई छरपष्ट पारेका थिए।”
20 त्यसपछि परमप्रभूले मलाई चारजना कारीगरहरू देखाउँनु भयो। 21 मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरू किन आएकाछन्?”
उहाँले भन्नुभयो, “यी सींङहरू जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरू ती देशहरू जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरू खडा पारे ती देशहरूलाई डर देखाउँन अनि तिनीहरूको सींङहरू फ्याँकिदिन आएका हुन्।”
येशू एक सामरी स्त्रीसँग बोल्नुहुन्छ
4 येशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने। 2 तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो। 3 त्यसैले येशू यहूदिया छोडेर गालील फर्कनु भयो। 4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। 6 याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो। 7 एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” 8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
9 सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।
10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। 12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। 14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”
येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। 18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।”
19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। 20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। 22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?”
28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्, 29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?” 30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
32 तर येशूले उत्तर दिनुभयो, “मसँग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
34 येशूले भन्नुभयो, “मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुशरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो। 35 जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्। 36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाईं गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुन्छन्। 37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ। 38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरूले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।” 40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो। 41 तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
42 मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गर् यौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझ्न थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
येशूले एकजना अधिकारीको छोरोलाई निको पार्नु भयो
(मत्ती 8:5-13; लूका 7:1-10)
43 दुइ दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो। 44 येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवक्तालाई आदर गरिदैन। 45 यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
46 येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो। 47 त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको छ भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गर्यो। उसको छोरो मर्न आँटेको थियो। 48 येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
49 राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
50 येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।”
येशूले भन्नु भएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर फर्किआयो। 51 घरजाँदै गर्दा बाटामा उसको नोकरसँग भेट भयो। नोकरले भन्यो, “तपाईंको छोरो जाती भएको छ।”
52 त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?”
उसको नोकरले उत्तर दियो, “हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।”
53 त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
54 यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
© 2004, 2010 Bible League International