M’Cheyne Bible Reading Plan
मन्दिर बनाउनका निम्ति भेटीहरू
29 राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो। 2 मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोड्ने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईँटा, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो सँगमर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु। 3 मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु। 4 मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो। 5 मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”
6 परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे। 7 यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000[a] असर्फी,[b] 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम। 8 मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए। 9 मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।
दाऊदको सुन्दर प्रार्थना
10 त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः
“परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता,
सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।
11 महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन।
किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्।
हे परमप्रभु, राज्य तपाईकै हो
तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
12 धन अनि सम्मान तपाई बाट नै आउँछन्।
तपाई सबैमाथि शासन गर्नुहुन्छ।
पराक्रम अनि शक्ति तपाईकै हातमा छन्।
अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।
13 यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं,
अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।
14 सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्।
यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्।
हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
15 किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं।
यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाँयाँ जस्तो
हामी यसलाई रोक्ने आशा गर्देनौ।
16 हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं।
हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं।
तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्।
हरेक थोक तपाईकै हुन्।
17 मेरा परमेश्वर, म जान्दछु
कि तपाईले आफ्ना मानिसहरूको जाँच गर्नुहुन्छ
अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ।
म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु।
तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु
र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।
18 हे परमप्रभु तपाई हाम्रा पुर्खा
अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ।
कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्।
तिनीहरूलाई तपाईप्रति धन्यवादी हुनमा सहायता गर्नुहोस्।
19 अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्।
तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैँ त्यसलाई सहायता गर्नुहोस्।
सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस्
अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”
20 तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।
सुलेमान राजा हुन्छन्
21 अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेंडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे। 22 त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे।
अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे। 23 तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे। 24 सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।
25 परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।
दाऊदको मृत्यु
26 यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस बर्षसम्म राजा थिए। 27 दाऊद हेब्रोन शहरमा सात बर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस बर्षसम्म राज्य गरे। 28 दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।
29 राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गादद्वारा लिखित पुस्तकहरूमा छन्। 30 ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।
येशू फेरि आउनु हुनेछ
3 मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरू लेखें। 2 धेरै अघि पवित्र अगमवक्ताहरूले भनेको कुराहरू तिमीहरूले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झ जो हाम्रा प्रभु अनि उद्धारकर्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरूका प्रेरितहरू मार्फत दिनु भयो। 3 तिमीहरूले बुझ्नै पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन् जसले तिमीहरूलाई खिसी गर्नेछन्। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन्। 4 ती मानिसहरूले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।” 5 तर ती मानिसहरू धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरू थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो। 6 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। 7 अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।
8 यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। 9 जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।
10 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। 11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। 12 तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। 13 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
14 प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। 15 स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो। 16 पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
17 प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं। 18 तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैँको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
परमप्रभुको आरोप
6 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ:
“उठ अनि पहाडको सामुन्ने खडा हौ,
अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ।
पहाडहरूलाई आफ्नो कथा सुनाऊ।
2 परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ।
पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन,
अटल रहने पृथ्वीका जगहरू हो,
परमप्रभुको आरोप सुन,
उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”
3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू!
के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें?
मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ?
मलाई भन मैले तिमीहरूलाई के गरें?
4 म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें,
मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ!
मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ।
मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।”
5 हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर।
ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो।
ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो।
तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।”
परमेश्वर हामीबाट के चाहानु हुन्छ?
6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ?
के परमप्रभुलाई एक बर्षको बाछो,
होमबलि चढाउन लिएर जाऊँ?
7 के परमप्रभु एक हजार भेंडा़
र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ?
के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा
जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?
8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ।
परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ,
त्यो बताउनु भएको छ।
मानिसहरूसँग तिमी साँच्चो बन,
अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।
इस्राएलका मानिसहरू के-के गरिरहेकाछन्?
9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः
उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ।
यसकारण तिमी जातिहरू र तिमीहरू जो यहाँ जम्मा भएकाहरू हो ध्यन देऊ।
10 के अझै पनि दुष्टहरूले चोरेको धन सम्पत्ति
लुकाएर राखेको छ?
के दुष्टहरूले अझै पनि मानिसहरूलाई
टोकरीहरूले धोका दिइ रहेकोछ,
जुन टोकरीहरू सानो छ।
11 के मैले ती दुष्ट मानिसहरूलाई बेवास्ता गर्ने?
जसले अझै पनि कपट तराजु
र छलको ढकले मानिसहरूलाई ठगिरहेका छन्?
12 त्यस शहरका धनी मानिसहरू निर्दयी काम गर्छन्।
त्यस शहरका मानिसहरू अझै पनि झूटो बोल्दछन्।
हो! ती मानिसहरू तिनीहरूको झूटो कुरा गर्छन्।
13 यसकारण मैले तिमीहरूलाई दण्ड दिन शुरु गरें।
म तिमीहरूलाई तिमीहरूको पापको कारण नष्ट गरिदिनेछु।
14 तिमीहरूले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन।
अनि फेरि तिमी भोको हुनेछौ।
तिमीले मानिसहरूलाई बचाउने कोसिस गर्छौ
तर तिमीले जसलाई बचाउँछौ,
म त्यसलाई तरवारले काटिदिनेछु।
15 तिमीहरू आफ्नो बिऊ छर्छौ,
तर तिमीहरू बाली काट्ने छैनौ।
तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ
तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ।
तिमी दाख पेलेर दाखरस त निकाल्छौ
तर पिउँन पर्याप्त हुँदैन।
16 यस्तो किन हुन्छ?
किनकि तिमीहरू ओम्रीको कानूनहरू पालन गर्छौ।
तिमीहरू ती नराम्रा कुराहरू भन्छौ
जुन कुराहरू आहाब का घरानामा गर्छन्।
तिमीहरू उनीहरूको शिक्षा अनुसार चल्छौ।
यसकारण म तिमीहरूलाई नष्ट पर्नेछु।
तिम्रो शहरका मानिसहरू हाँसोको पात्र हुनेछन्।
तिमीहरू अन्य राज्यहरूको घृणाको पात्र बनिनेछौ।”
स्वर्गमा आनन्द
(मत्ती 18:12-14)
15 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँका कुराबरू सुन्न आए। 2 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।”
3 त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः 4 “तिमीहरूमध्ये कसैको सय वटा भेंडा़हरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडा़लाई छोडेर हराएको एउटा भेंडा़ खोज्न जान्छ। त्यो भेंडा़ जब सम्म पाउदैन ऊ खोजी रहने छ। 5 अनि जब उसले हराएको भेंडा़ पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेंडा़लाई आफ्नो काँधमा बोकेर ल्याउनेछ। 6 जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेंडा़ पाएको छु।’ 7 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनन्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
8 “मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे। 9 अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’ 10 त्यसरी नै, म भन्दछु, ‘जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दूतहरूको अघि खुशी छाउँछ।’”
उड़न्ता पुत्र
11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए। 12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो। 14 आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। 15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। 16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
17 “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। 18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें 19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ 20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।
छोरो फर्किन्छ
“जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए। 21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। 23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। 24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
जेठो छोरोको आगमन
25 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो। 26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’ 27 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
28 “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे। 29 त्यो छोरोले बाबुलाई भन्यो, ‘मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरें। मैले सधैँ तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउँन सक्थें। 30 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको सँगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।’
31 “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो। 32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’”
© 2004, 2010 Bible League International