M’Cheyne Bible Reading Plan
मन्दिरको निम्ति दाऊदका योजनाहरू
28 दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।
2 राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाइहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें। 3 तर परमप्रभुले मलाई भन्नुभयो, ‘अँहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’
4 “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो। 5 परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो। 6 परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु। 7 सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा-सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।’”
8 दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।
9 “अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ। 10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।”
11 त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए। 12 दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए। 13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने। 14 दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने। 15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो। 16 पवित्र रोटीको निम्ति प्रयोग गरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोग गर्नुपर्छ सो दाऊदले भने। 17 काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकापी बनाउन कति चाँदी प्रयोग गर्नुपर्ने सो दाऊदले भने। 18 दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेंटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।
19 दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”
20 दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी होऊ अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्। 21 यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”
झूटा शिक्षकहरू
2 विगत समयमा झूटा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झूटा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्। 2 धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। 3 ती झूटा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झूटा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरूको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्।
4 जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् 5 अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे। 6 अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। 7 तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। 8 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। 9 हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ। 10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।
यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्। 11 सवर्गदूतहरू यी झूटा शिक्षकहरू भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरूले झूटा शिक्षकहरूलाई दोषारोपन गर्दैनन् अनि तिनीहरूको बारेमा प्रभु अघि निन्दा गर्दैनन्। 12 तर यी झूटा शिक्षकहरू तिनीहरूले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरू, जङ्गली पसुहरू जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरू जङ्गली पशुहरू जस्तै नष्ट हुनेछन्। 13 यी झूटा शिकहरूले धेरै मानिसहरूलाई चोट पुर्याँउँछन्। यसर्य तिनीहरूले पनि चोट पाउनेछन्। त्यो तिनीहरूले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरू, सबै मानिसहरू समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरू कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरूलाई खुशी पार्छ। यसर्थ तिनीहरू तिमीहरूमाझ फोहोर कलङ्क अनि दागहरू जस्तै हुन्। तिमीहरूसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरूलाई लज्जित तुल्याउँछ्न्। 14 हरेकपल्ट तिनीहरू स्त्रीलाई हेर्छन्, अनि तिनीहरू उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरू सदैव पाप गरिरहन्छन्। तिनीहरूले कमजोर मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरू आफैंले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरू श्रापित छन्। 15 यी झूटा शिक्षकहरूले उचित मार्ग छोडेका छन् अनि तिनिहरूको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरूले त्याही मार्ग अनुशरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे। 16 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानाकर्षण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।
17 ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ। 18 ती झूटा शिक्षकहरू त्यस्ता वचनहरूमा गर्व गर्छन् जसको केही अर्थ छैन। तिनीहरूले मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरूले, यस्ता मानिसहरूलाई आकर्षित गराइरहेछन् जो मानिसहरू कुकर्म गर्नेहरूबाट टाढ़ा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरूले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्। 19 ती झूटा शिक्षकहरू स्वतंत्रता प्राप्तिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरू स्वयं स्वतन्त्र छैनन्। तिनीहरू ती ध्वंशात्मक कुराहरूका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ। 20 ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ। 21 हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो। 22 तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।”(A) अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।”
5 अब तिमी पर्खालले घेरियौ!
हामी घेरामा पर्यौं।
तिमीहरूले इस्रएलको न्यायकर्तालाई
फलामको लौरोले गालामा हिर्काउँनेछन्।
मसीह बेतलेहममा जन्मनेछन्।
2 तर हे बेतलेहम एप्रात,
तिमी यहूदाका बीचमा धेरै सानो छौ,
तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ,
तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ।
उहाँको सुरुवात प्राचीन कालदेखिनै छ,
धेरै-धेरै अघि देखि।
3 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन,
तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ।
तब तिनका बाँचेका दाज्यू-भाइहरू चाहिँ
इस्राएलीहरूकहाँ फर्किएर आउनेछन्।
4 अनि ऊ खडा हुन्छ आफ्नो भेंडा़को बथानलाई परमप्रभुको शक्तिले
अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाउँछ।
तिनीहरू सुरक्षित हुनेछन्
किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।
5 यहीं शान्ति हुनेछ
जब अश्शूरी हाम्रो देशमा आउँछ
र त्यसले हाम्रो देशमा खुट्टा टेक्छ
तब हामी त्यसको बिरूद्धमा सात गोठाला
र आठ अगुवाहरू खडा गर्नेछौं।
6 अनि तिनीहरूले अश्शूरमाथि तरवारले
र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्।
अब अश्शूरीहरू हाम्रो देश भित्र पस्छन्,
र हाम्रो सिमानामा पाईला टेक्छन्
तब उहाँले हामीहरूलाई अश्शूरीहरूको हातबाट बचाउँनुहुनेछ।
7 अनि याकूबका बाँकि रहेकाहरू चाँहि
धेरै मानिसहरूका बिचमा परमप्रभुबाट आएको शीत
र घाँसमाथि पर्ने झरी झैं हुनेछन्,
जसले न त कुनै मानिसलाई,
न मानिसका कुललाई पर्खनेछ।
8 अनि याकूबका बाँकि रहेकाहरू चाँहि
धेरै जनताको बीचमा
जङ्गलका पशुहरूका बीचमा सिंह
र जीव-जन्तुहरूको बिचमा
सिंहको बच्चा जस्तै हुनेछन्
जो तिनका बीचमा कुल्चँदै
र तिनीहरूलाई टुक्रा पार्दै जानेछन्,
र बचाउँने कोही पनि हुनेछैन।
9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस्,
र तपाईंका सबै शत्रुहरू ध्वंश हुनेछन्।
मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्
10 परमप्रभु भन्नुहुन्छ,
“त्यसदिन म तिम्रा घोडाहरू खोस्नेछु
र म तिम्रा रथहरू नष्ट गरिदिनेछु।
11 म तिम्रो देशको सबै शहरहरू उजाड पारिदिनेछु।
म तिम्रो सबै गढीहरू भत्काई दिनेछु।
12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं,
फेरि तिमी ती मानिसहरूको भविष्य बताउँने प्रयास गर्नेछौनौ।
13 म तिम्रा झूटा देवताको, मूर्तिहरू नष्ट गरिदिनेछु।
ती झूटा देवताको मूर्तिहरूको ढुङ्गाको मूर्ति,
स्मृति, स्तम्भहरू सबै उखेलेर फ्याँकिदिनेछु,
जसलाई तिमीहरू स्वयंले आफ्नो हातले बनाएका थियौ,
तिमीहरू त्यसको पूजा गर्ने पाउनेछैनौ।
14 म अशेरा देवीका पूजाको खम्बाहरू नष्ट गरिदिनेछु।
अनि म सबै तिम्रो झूटो देवताहरू नष्ट गरिदिनेछु।
15 त्यहाँ केही जातिहरू छन् जसले मेरो कुरा सुन्दैनन्।
म तिनीहरूसित क्रोधित हुनेछु र म तिनीहरूसित बद्ला लिनेछु।”
के विश्रामको दिनमा उपचार गर्नु उचित छ?
14 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए। 2 एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो। 3 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?” 4 तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो। 5 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?” 6 ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।
आफ्नै प्रशंसा नगर
7 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः 8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन नखोज। ती मानिसले तिमीहरूभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ। 9 अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ।
10 “यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ‘ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।’ 11 किनभने जसले आफैंलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।”
तिमीहरूलाई इनाम मिल्नेछ
12 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। 13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। 14 त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
महाभोजको एउटा दृष्टान्त
(मत्ती 22:1-10)
15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो। 17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’ 18 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, ‘मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।’ 19 अर्को मानिसले भन्यो, ‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’ 20 तेस्रो मानिसले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।’
21 “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’
22 “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’ 23 मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु, 24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’”
तिमी पहिला योजना बनाऊ
(मत्ती 10:37-38)
25 धरै मानिसहरूले येशूसँग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि फर्कनु भयो अनि भन्नुयो, 26 “यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यू-भाइ तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ। 27 यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।
28 “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ। 29 यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्। 30 तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
31 “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन। 32 यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
33 “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।
आफ्नो प्रभाव नहराऊ
(मत्ती 5:13; मर्कूस 9:50)
34 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन। 35 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्।
“जसले मेरो कुरा सुनिरहेका छौ सुन।”
© 2004, 2010 Bible League International