M’Cheyne Bible Reading Plan
योआहाज आफ्नो शासन शुरू गर्छन्
13 येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं बर्ष थियो। योआहाजले 17 बर्ष शासन गरे।
2 योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्। 3 तब परमप्रभु इस्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।
इस्राएलका मानिसहरूप्रति परमप्रभुको दया
4 तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुन्नुभयो। परमप्रभुले इस्राएलको सङ्कट अनि अरामका राजाले इस्राएलीमाथि गरेको कष्ट देख्नु भएको थियो।
5 यसकारण परमप्रभुले इस्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्राएलीहरू आ-आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।
6 तर इस्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप फिँजियो। इस्राएलीहरूले यारोबामले गरेको पाप गरिनै राखे। तिनीहरूले अशेराको खाँबोलाई सामरियामा राख्ने काम गरे।
7 अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँईं गर्दा हावाले उडाएको भुस जस्तै भए।
8 सबै महान कामहरू जो योआहाजले गरेका थिए इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 9 योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।
योआशको इस्राएलमा शासन
10 योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं बर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र बर्ष शासन गरे। 11 इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। 12 सबै महान कामहरू जो योआशले गरेका थिए अनि उनको यहूदाका राजा अमस्याहले गरेको युद्धको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 13 योआश मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। यारोबाम नयाँ राजा भए अनि योआशको सिंहासनमा बसे। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो।
योआशा एलीशासित भेट गर्छन्
14 एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवारहरू?”
15 एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।”
योआशले एउटा धनुष अनि केही तीरहरू लिए। 16 तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे। 17 एलीशाले भने, “पूर्वको झ्याल खोल।” योआशले झ्याल खोले। तब एलिशाले भने, “चलाउनु होस्!”
योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।”
18 एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।”
योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे। 19 परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारून्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”
एलीशाको चिहानमा अचम्मको कुरा
20 एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो। 21 केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।
योआश इस्राएलका शहरहरू फेरी जित्छन्
22 योआहाजले शासन गरेको समयमा अरामका राजा हजाएलले इस्राएलमाथि सङ्कट सृष्टि गरे। 23 तर परमप्रभु इस्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्राएलीहरूलाई अझसम्म नष्ट गर्न अथवा टाढा फ्याँक्न चाँहदैन थिए।
24 हजाएल, आरमका राजा मरे र ऊ पछि उनका छोरा बेन-हदद राजा भए। 25 मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआशले ती शहरहरू हजाएलका छोरा बेन-हददबाट लिए। योआशले बेन-हददलाई तीन पटक परास्त गरे अनि इस्राएलका शहरहरू फिर्ता लिए।
अन्तिम दिनहरू
3 यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। 2 ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। 3 मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। 4 अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। 5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।
6 त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्। 7 ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्।
8 जेन्नस र जेम्ब्रसलाई नै सम्झ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुशरण गर्न चुकेका छन्। 9 तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।
अन्तिम सल्लाह
10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। 11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। 12 ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। 13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।
14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। 15 तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। 16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्। 17 परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।
अगुवाहरूले इस्राएल अनि यहूदालाई पाप गर्न लगाए
5 “हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।
“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ। 2 शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु। 3 म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ। 4 तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्। 5 इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।
6 “तिनीहरू आफ्ना ‘भेंडा़-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ। 7 तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।
इस्राएलीहरूको पतन हुने अगमवाणी
8 “गिबामा सींङ फुक।
अनि रामामा तुरही फुक।
बेतावनमा खतराको घन्टी बजाऊ।
हे बिन्यामीन, थरथर होऊ।
9 दण्डको दिनमा एप्रैम उजाड हुनेछ।
जे कुरो निश्चय हुनेवाला छ
त्यो इस्राएलका सारा कुलहरूलाई
मैले जनाएको छु।
10 यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन्,
जो आफ्नो सीमा रेखा बढाउँछन्।
म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।
11 एप्रैम कष्टमा परेको छ,
मेरो न्यायमा त्यो चूर्ण भएको छ,
किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।
12 अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा
अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।
13 जब एप्रैमले आफ्नो रोग देख्यो,
र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो,
त्यसले ठूलो राजाकहाँ मानिस पठायो।
तर त्यसले तिमीलाई निको पार्न सक्तैनँ।
न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।
14 किनभने म एप्रैमका निम्ति एउटा सिंह
अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु।
म आफैं तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु।
म तिनीहरूलाई उठाएर लानेछु।
अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।
15 जबसम्म तिनीहरूले आफ्ना अपराध,
स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन्,
तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु।
आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन्।”
परमप्रभु तर्फ फर्कि आउँनेको पुरस्कार
6 “आऊ, हामी परमप्रभुतिर फर्कौ
किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ,
र उहाँले नै हामीलाई निको पार्नुहुनेछ।
उहाँले चोट पार्नु भएकोछ,
र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ।
2 दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ
अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ।
हामी उहाँकै अघि जिउँदो हुनेछौं।
3 आऊ, हामी परमप्रभुलाई चिनौं,
हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं।
हामीलाई थाह छ उहाँ आउनुहुनेछ।
उहाँको आगमन प्रभात झैं निश्चय छ।
उहाँ हामीकहाँ जमीनलाई भिजाउने,
आखिरी बर्षा झैं आउनु हुनेछ।”
मानिसहरू विश्वास योग्य छैनन्
4 “ए एप्रैम, म तिमीलाई के गरूँ?
ए यहूदा म तिमीलाई के गरूँ?
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै,
र बिलिने शीत जस्तै छ।
5 यसैकारण मैले तिनीहरूमाथि
अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु।
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु।
मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
6 किनभने म अमर प्रेम चाहन्छु
बलिदान होइनँ।
अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा,
परमेश्वरलाई बेशी जानेको म चाहन्छु।
7 तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे।
त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।
8 गिलाद अधर्मीहरूको शहर हो।
त्यो रगतले भरिएको छ।
9 जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन्,
त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्।
तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्।
निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
10 इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु,
एप्रैमको वेश्यावृत्ति त्यहाँ छ।
इस्राएल अशुद्ध भएको छ।
11 ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ।
त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”
कोफ
145 हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु।
मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
146 हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्!
अनि म तपाईंको करार पालन गर्नेछु।
147 तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
148 तपाईंका वचनहरू मनन गर्न
म रातमा अबेर सम्म बस्छु।
149 आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
150 मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्।
151 परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
152 धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें
कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।
रेश्
153 हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्।
मैले तपाईंको उपदेशहरू भुलेको छैन।
154 हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्।
तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
155 दुष्ट मानिसहरूले जित्ने छैन
किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
156 हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ।
तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
157 मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन्
तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ।
158 म ती विश्वास घातीहरूलाई देख्छु,
तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्,
र म तिनीहरूलाई घृणा गर्छु।
159 हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें।
हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
160 हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो।
अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।
शीन्
161 प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे।
तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
162 परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो,
धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
163 म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु।
तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
164 दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु।
किनकि तपाईँका नियमहरू असलछन्।
165 मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्,
तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्।
केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
166 हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु।
मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
167 मैले तपाईंको करार-वचनलाई अनुशरण गरें।
हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु।
168 मैले तपाईंको करार र आज्ञाहरू पालन गरे।
हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।
ताव्
169 हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्।
तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
170 परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
171 म प्रशंसाको गीत गाँउछु।
किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
172 तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्।
परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
173 मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्।
174 हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्।
तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
175 मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्,
परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
176 म हराएको भेंडा सरह भड्किरहें।
हे परमप्रभु, आएर मलाई खोज्नु होस्।
म तपाईंको दास हुँ,
अनि मैले तपाईंको भरोसा भुलेको छैन।
© 2004, 2010 Bible League International