Historical
योशियाह निस्तार चाड मनाउँछन्
35 राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो। 2 योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए। 3 योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदका छोरा थिए। दाऊद इस्राएलका राजा थिए। पवित्र सन्दूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर। 4 तिमीहरू स्वंयलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्। 5 पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ। 6 निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेंडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”
7 योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए। 8 योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए। 9 कोन्नयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेंडा र बाख्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।
10 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो। 11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए। 12 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे। 13 लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए। 14 यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हारूनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अँध्यारो नभएसम्म खराएर ब्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे। 15 आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।
16 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए। 17 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए। 18 निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए। 19 तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं बर्षमा मनाए।
योशियाहको मृत्यु
20 योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए। 21 तर नेकोले योशियाह कहाँ दूतहरू पठाए।
तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”
22 तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्। 23 योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”
24 यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखीत थिए किनभने योशियाहको मृत्यु भएको थियो। 25 यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू शोक-गीतहरू नाउँको पुस्तकमा लेखिएका छन्।
26-27 योशियाहले तिनी राजा हुँदा आफ्नो शासनकालको शुरू देखि अन्त सम्म गरेका सबै अन्य कुराहरू इस्राएल अनि यहूदाका राजाहरूको इतिहास नाउँको पुस्तकमा लेखिएका छन्। त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ।
यहोआहाज यहूदाका राजा
36 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए। 2 यहोआहाज तेईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए। 3 तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए। 4 नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।
यहोयाकीम यहूदाका राजा
5 यहोयाकीम पच्चीस बर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार बर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।
6 बाबेलका राजा नबूकदनेस्सरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेस्सरले राजा यहोयाकीमलाई बाबेलमा लगे। 7 नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे। 8 अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू इस्राएल अनि यहूदाका राजाहरूका इतिहास नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।
यहोयाकीन यहूदाका राजा
9 यहोयाकीन अठाह्र बर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे। 10 बसन्तकालमा राजा नबूकदनेस्सरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
सिदकियाह यहूदाका राजा
11 सिदकियाह एक्काईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार बर्षसम्म यरूशलेममा राजा थिए। 12 सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यर्मियाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यर्मियाले भनेका कुराहरू पालन गरेनन्।
यरूशलेम ध्वंश भयो
13 सिदकियाह राजा नबूकदनेस्सरको विरूद्ध गए। अतीतकालमा नबूकदनेस्सरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे। 14 पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धेरै पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुशरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो। 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखीत हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो। 16 तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन। 17 यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो। 18 नबूकदनेस्सरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो होस् वा सानो होस् बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे। 19 नबूकदनेस्सर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए। 20 नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे। 21 यस प्रकारले यर्मिया अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यर्मियाद्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी बर्षसम्म शून्य उजाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”
22 कोरेस फारसको राजा रहेको पहिलो बर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवक्ता मार्फत दिनु भएका वचनका कुराहरू साँच्चै नै घटित् हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा संन्देशवाहकहरू पठाए। तिनीहरूले यो संन्देश बोकेः
23 कोरेस, फारसका राजा भन्छन्:
“परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”
© 2004, 2010 Bible League International