Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 3:3-4:34

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए। सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”

सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

10 सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो। 11 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्। 12 यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन। 13 तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन। 14 म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुशरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”

15 सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।

16 एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए। 17 एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई। 18 तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं। 19 एक रात यो आइमाई आफ्नो नानीसँग सुतेकी थिई, नानी मरेछ। 20 राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी। 21 बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”

22 तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!”

तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।

23 तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।” 24 तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए। 25 अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”

26 अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”

27 तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”

28 इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।

सुलेमानको राज्य-शासन

राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले। शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्:

सादोकका छोरा अजर्याह, अजर्याह पूजाहारी थिए।

शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए।

अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे।

यहोयादाका छोरा बनायाह। बनायाह सेनापति थिए।

सादोक र एबीयातार। यिनीहरू पूजाहारीहरू थिए।

नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए।

नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।

अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए।

अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।

इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक बर्षको एक महीनामा राजालाई खाद्यान सामाग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो। बाह्रजना राजपालहरूका नाउँ यी हुन्;

बेनहर एप्रैमको पार्वत्य प्रदेशको राजपाल थिए।

माकश, शाल्बीम, बेतशेमेश अनि एलोनरबेत-तनानका राजपाल बेन्दकेर थिए।

10 अरूबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।

11 बेन अबीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए।

12 अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

13 बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठ्ठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।

14 इद्दोका छोरा अहीनादाब महनेमका राजपाल थिए।

15 अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।

16 हूशैका छोरा बाना आशेर र आलोतका राजपाल थिए।

17 पारूहका छोरा यहोशापात इस्साकारका राजपाल थिए।

18 एलाका छोरा शिमी बिन्यामीनका राजपाल थिए।

19 ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।

20 यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।

21 सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।

22-23 सुलेमानलाई प्रत्येक दिन चाहिने खाध्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः 30 मुरी राम्रो पिठो, 60 मुरी अन्न, 10 वटा राम्रो अन्न खाने गाईहरू, 20 वटा मैदानमा पालीएको गाईहरू, 100 वटा भेंडाहरू, जंगली जनावरहरू जस्तो मृग, जराया, चित्तल अनि शिकार गरिएका चराहरू।

24 सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए। 25 सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।

26 सुलेमानसित उनका रथहरूका 4,000[a] घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए। 27 प्रत्येक महीना बाह्र जनपद मध्ये एक जना राजपालले सुलेमानलाई ती जिनिसहरू दिने गर्दथे जो उनलाई चाहिन्थ्यो। राजाको मेजमा भोजन गर्ने प्रत्येक मानिसका लागि यो पर्याप्त थियो। 28 शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।

सुलेमानको बुद्धि

29 परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो कि, कल्पना गर्न सकिन्न। 30 सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा ज्ञानी थिए। 31 उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए। 32 आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।

33 सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे। 34 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।

प्रेरित 6

विशेष कामको लागि सातजना चुनिए

धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।

यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन। यसैले दाज्यू-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं। यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”

चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहूदी भएका थिए। त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।

परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।

स्तिफनसको विरुद्ध यहूदीहरू

स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। तर कतिपय यूहीहरू आए अनि स्तिफनसँग तर्क गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसँग बहस गरे। 10 तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्।

11 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” 12 यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।

13 तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। 14 नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।” 15 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।

भजनसंग्रह 126

मन्दिरमा गइरहेको बेलाको भजन।

जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
    त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
    अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
    “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
हो, हामी अत्यन्त खुशी हुनेछौं
    यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
    जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
    तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
    तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

हितोपदेश 16:26-27

26 परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।

27 एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International