Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 8-11

बिल्दद अय्यूबसँग बोल्दछ

तब शुहाबाट आएका बिल्ददले उत्तर दिए:

“कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ?
    तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ।
    सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बद्लनु हुन्न जुन ठीक छन्।
यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने
    तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने छ।
तर अब अय्यूब, परमेश्वर पट्टिहेर,
    अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
यदि तिमी निर्दोष अनि ईमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ।
    उहाँले तिम्रा घर पुनःर्निर्माण गरिदिनुहुनेछ।
तब तिमीसँग पहिले जति थियो
    त्यो भन्दा अझ ज्यादा हुनेछ।

“बूढा-प्रधानहरूलाई सोधखोज गर,
    तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ,
    त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं।
यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
10 हुनसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्।
    हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”

11 “बिल्ददले भन्यो, ‘के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ?
    के निगालाहरू पानीबिना उम्रन सक्छ?’
12 अँहँ! यदि पानी सुकाइयो भने,
    तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन,
तिनीहरू मसिना र सुख्खा निगालाहरू जस्तो हुनेछन्।
    जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
14 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन।
    उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने
    त्यो जालो फाट्छ।
माकुराको जालमा झुण्डिन्छ
    तर त्यसले उसलाई थाम्न सक्तैन।
16 त्यो मानिस एक उद्भिद् जस्तो छ
जसमा प्रशस्त पानी र घामको किरण छ
    त्यसको हाँगाहरू सबै बगैंचा भरि फैलिएको छ।
17 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ।
    ढुङ्गामा बढ्नका निम्ति ठाउँहरू खोजिरहन्छ।
18 तर यदि उद्भिदलाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ,
    र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
19 तर उद्भिद् खुशी थियो
    अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न।
    उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
21 परमेश्वरले सधैँ तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ
    अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
22 तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ
    अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”

अय्यूबले बिल्ददलाई जवाफ दिन्छन्

तब अय्यूबले जवाफ दिए,

“हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो।
    तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?
एक मानिसले परमेश्वरसँग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ
    तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।
परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ।
    परमेश्वरसँग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।
परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ।
    परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।
परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न।
    उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ।
    यसकारण तिनीहरू चम्कन सक्तैनन्।
परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो।
    उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।

“परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो।
    उहाँले दक्षिणी तारागण बनाउनु भयो।
10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्।
    परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।
11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन।
    जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।
12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने
    कसैले उहाँलाई रोक्न सक्दैन।
कसैले पनि उहाँलाई केही भन्न सक्तैनन्,
    ‘तपाईं के गरिरहनु भएको छ?’
13 परमेश्वरले आफ्नो क्रोध फर्काउनु हुन्न।
    रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।
14 यसैले म परमेश्वरसँग तर्क गर्न सक्तिनँ।
    उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।
15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ।
    म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।
16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो,
    म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।
17 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो।
    उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।
18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन।
    उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।
19 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ।
    परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ।
म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ!
    अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।
20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ।
    म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।
21 म निर्दोष छु तर म जान्दिन के सोच्ने।
    म आफ्नै जीवनलाई घृणा गर्छु।
22 म आफैंलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्।
    निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’
23 जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ?
24 जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ?
    यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?

25 “दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ
    अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन।
26 मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्।
    मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ।

27 “यदि म भन्छु ‘म गुनासो गर्ने छैन
    म आफ्ना पीडाहरू भुल्छु, म मेरो अनुहारमा मुस्कानले भर्छु।’
28 म मेरा पीडाले अझै भयभीत छु।
    म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।
29 यदि म दोषी ठहरी सकेको छु भने
    आफ्नो परीक्षा किन गरिरहने।
    म भन्छु, ‘यो भुलिदेऊ।’
30 यदि मैले स्वयंलाई हिऊँले धोएँ भने,
    अनि साबूनले हातहरू सफा राखें भने पनि,
31 परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ।
    तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।
32 परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ।
    हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।
33 म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्।
    म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।
34 म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्।
    तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।
35 तब परमेश्वरको भयबाट स्वतन्त्र भएर
    मैले चाहेको कुरा म भन्न सक्थें।

10 “म आफ्नो जीवनलाई घृणा गर्दछु।
    यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु।
    मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्।
    मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु?
    मसित विरोध गर्ने तपाईंसँग के कारण छ?
परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ?
    यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न।
    अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्?
    तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ?
के तपाईंको आयु मानिसको जस्तै छोटो छ?
    के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?
तपाईंले मेरो दोष खोज्नु हुन्छ
    अनि मेरो पाप खोज्नु हुन्छ।
म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ
    तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।
परमेश्वर,
    तपाईंको हातले मलाई बनाउनु भयो
अनि मेरो शरीरको आकार बनाउनु भयो।
    के तपाईंले मलाई नष्ट गर्नु हुन्छ?
परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो।
    के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
10 तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो
    र पनीर बनाए जस्तै निचोर्नु भयो।
11 तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो।
    अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।
12 तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो।
    तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।
13 तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ।
    हो तपाईंको मनमा के छ म सो जान्दछु।
14 यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ।
    यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।
15 जब म पाप गर्छु,
    म दोषी हुन्छु
अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ।
    तर म निर्दोष भएता पनि
आफ्नो शिर उठाउन सक्तिनँ।
    म अपमानित तथा चिन्ताग्रस्त छु।
16 यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो,
    जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ
    त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।
17 तपाईंसँग मेरो गल्ती प्रमाणित गर्न,
    सधैँ एकजना साक्षी पठाउनु हुन्छ।
एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै
    तपाईंले ममाथि घरि-घरि रीस देखाउनु हुन्छ।
18 यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो?
    म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
19 म इच्छा गर्छु म नबाँचेको भए हुने थियो।
    आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।
20 मेरो जीवन प्रायः बितिसकेको छ।
    यसकारण मलाई एक्लो छोडी दिनु होस्,
    र अब बाचेको थोरै समय आनन्द गर्न पाउँ।
21 जुन अँध्यारो, मृत्यु स्थान, जहाँबाट कुनै मानिस फर्कदैन
    त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।
22 अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन
अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ,
    म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला,
    अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।’”

सोपर अय्यूबसित बोल्दछ

11 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,

“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ।
    के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
अय्यूब के तिमी सम्झन्छौ
    कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्?
जब तिमी परमेश्वरलाई खिसी गर्छौ,
    तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
अय्यूब तिमीले परमेश्वरलाई भन्छौ,
    ‘मेरो तर्कहरू यथार्थ छन्
    अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ
    अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।
परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो।
    उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्।
अय्यूब, मेरो कुरा सुन।
    तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।

“अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं?
    तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
माथि स्वर्गमा के छ?
    त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ
मृत्युलोकको बारेमा तिमीले
    केही पनि जान्दैनौ।
परमेश्वर पृथ्वी भन्दा महान
    अनि सागर भन्दा विशाल हुनुहुन्छ।

10 “यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने,
    कसैले उहाँलाई रोक्न सक्तैन।
11 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ।
    जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
12 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन्
    एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
13 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख
    अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ।
    तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ।
    तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ।
    तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ,
    जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ
    अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन।
    अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
20 नराम्रा मानिसहरूले सहयोग खोज्लान,
    तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्,
    तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”

1 कोरिन्थी 15:1-28

ख्रीष्टको बारेमा सुसमाचार

15 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ। सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।

मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ; अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो। त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके। अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।

जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन। 10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो। 11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।

हामी मृत्युबाट बौराइन्छौं

12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? 13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन। 14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। 15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। 16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। 17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। 18 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। 19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। 21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। 22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।

25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ। 27 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”(A) जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो। 28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफैं पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।

भजनसंग्रह 38

सम्झनाको निम्ति दाऊदको भजन।

हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
    तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
    तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
    मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
    म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
मैले मूर्ख कामहरू गरें।
    अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
    म दिनभरि हताश-हताश हुन्छु।
मलाई ज्वरो आएको छ,
    अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
    मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
    मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्‌ढुक् गरिरहेको छ।
    मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
    मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
    मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
    तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
    सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
    म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
    म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
    हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
    तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
    म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
    म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
    अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
    अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
    तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
    हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
    हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!

हितोपदेश 21:28-29

28 झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैँको निम्ति बोल्छ।

29 एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा ईमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International