Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 4-7

एलीपजका भाषण

तब तेमानीका एलीपज बोले:

“यदि मैले केही भने के तिमी रिसाउँदैनौ?
    जुन नभनी म रहन सक्तिनँ।
अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ।
    तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।
तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए।
    तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए।
तर अहिले तिमीमाथि कष्टहरू आए
    अनि तिमी हतास भयौ।
कष्टले तिमीलाई छुन्छ
    अनि तिमी हतास हुन्छौ।
तिमीले परमेश्वरलाई आराधना गर्छौ।
    तिमीले उहाँमाथि भरोसा गर्दछौ।
तिमी एकजना असल मानिस हौ।
    यसकारण ती तिम्रा आशा बनोस्।
अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्।
    असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।
मैले कतिपय सङ्कटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ।
    तर तिनीहरू नै सधैँ दण्डित हुन्छन्।
परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ।
    परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।
10 दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र झर्किन्छन्।
    तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।
11 हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्।
    तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्।

12 “गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो।
    मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।
13 मेरो रातको सपनाहरू बीचमा
    मानिसहरू निद्रामा हुन्छन्,
14 म त्रासित भएँ, अनि कामें।
    मेरो सबै हाडहरू कामे।
15 एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो।
    मेरा शरीरको रौं ठाडो भए।
16 त्यो आत्मा त्यहाँ उभियो,
    तर त्यो के थियो मैले देख्न सकिनँ।
एउटा आकार मेरो आँखाको सामने उभियो,
    अनि त्यहाँ चकमन्न भयो,
तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें:
17 ‘एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
    मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।
18 हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न।
    परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
19 यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्।
    मानिसहरू माटाको घरमा बस्दछन।
    ती माटाका घरहरूको जग फोहरमा हुन्छ।
    कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।
20 मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन।
    तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।
21 यदि तिनीहरूको पालको डोरी तानियो भने
    मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’”

“अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन।
    कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ?
मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ।
    सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।
मैले एकजना मूर्ख मानिसलाई देखें।
    उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो।
उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन।
    अदालतमा उनीहरूका पक्षमा बोलिदिने कोही थिएन।
भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म लगिदिए
    तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए।
दुःख फोहरबाट आउँदैन।
    सङ्कटहरू भुमिबाट उम्रिन्दैन।
तर आगोबाट उडेको फिलिङ्गो जतिकै
    मानिस सङ्कट लिनलाई नै जन्मन्छ।
तर अय्यूब, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फर्किने थिएँ
    अनि आफ्ना समस्याहरूका बारेमा उहाँलाई भन्ने थिए।
हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ।
    चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।
10 परमेश्वरले पृथ्वीमा बर्षाहरू पठाउनु हुन्छ।
    उहाँले खेतहरूमा पानी पठाउनु हुन्छ।
11 परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ,
    अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ।
12 परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ,
    यसकाण तिनीहरूले सफलता पाउँदैनन्।
13 परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ।
    यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।
14 ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन्
    मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ।
15 परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ।
    उहाँले गरीब निरीह मानिसहरूलाई शक्तिशालीहरूबाट जोगाउनु हुन्छ।
16 यसकारण गरीब मानिसहरूले आशा गर्छन।
    उहाँले दुष्टकर्मीको मुख थुनिदिनु हुन्छ।
17 त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ।
    यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।
18 परमेश्वरले दिनुभएको घाउहरूमा
    मलमपट्टी गरिदिनुहुन्छ।
उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ
    तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।
19 उहाँले तिमीलाई छ पल्ट सङ्कटहरूबाट बचाउनु हुनेछ।
    हो, सातपल्ट दुर्घटनाहरू हुँदा पनि तिमीलाई हानिहुने छैन।
20 जब त्यहाँ अनिकाल आईपर्छ
    परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।
अनि जब त्यहाँ युद्ध हुँदछ
    परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।
21 जब मानिसहरूले तिम्रो निन्दा गर्छन
    परमेश्वरले तिम्रो रक्षा गर्नु हुन्छ।
अनि यस्तो हुदाँ तिम्रो विनाश हुन्छ भनी
    डराउनु पर्दैन।
22 तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ।
    तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।
23 खेतका ढुङ्गाहरूसित तिम्रो वाचा बाँधिएको छ।
    जंङ्गली जनावरहरू तिमीसँग शान्ति साथ रहनेछन्।
24 तिम्रो घरमा शान्ति रहेको
    तिमीले चाल पाउनेछौ।
तिमीले आफ्नो सम्पत्ति गन्नेछौ
    अनि कुनै पनि चीज हराएको हुनेछैन्।
25 तिम्रा धेरै नानीहरू हुनेछन।
    तिनीहरू घाँसका पातहरू झैं प्रशस्त हुनेछन।
26 तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ।
    हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।

27 “अय्यूब, हामीले ती कुराहरूका अध्ययन गरेका छौ अनि हामी जान्दछौ।
    यसकारण अय्यूब, ध्यान दिएर सुन, अनि तिनीहरूबाट तिमी आफैं सिक।”

अय्यूबले एलीपजलाई जवाफ दिंदछ

तब अय्यूबले जवाफ दिएः

“यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता
    अनि मेरो सबै सङ्कटहरू तराजुमा जोखिन सक्ने भएता।
मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवा भन्दा गह्रुँङ्गो हुने थियो।
    यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।
सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्।
    मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु।
    परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।
जब कुनै दुर्घटना घटेको छैन तिम्रो शब्दहरू भन्नलाई सजिलो छ।
जङ्गली गधाले पनि गुनासो गर्दैन जब त्यहाँ उसलाई खान घाँस छ।
    अनि गाईले गुनासो गर्दैन् जब सम्म त्योसँग खाद्य हुन्छ।
नुन विनाको भोजनको स्वाद असल हुँदैन
    अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
यस प्रकारको खाद्य खान अस्वीकार गर्छु।
यस्ता भोजनले मलाई अस्वास्थ पार्छ।
    अनि तिम्रा कुराहरू त्यस्तै छन्।

“हाय! मैले जे मागें त्यो पाउँन सकूँ।
    म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।
म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन,
    कोही अघि बढेर मलाई मारून्।
10 अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु।
    म एउटा कुरामा खुशी हुनेछु।
    अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।

11 “मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्।
    म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ।
    यसैले मसँग धैर्य पनि छैन।
12 म चट्टान जस्तो बलियो छैन।
    मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।
13 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन।
    किनभने मबाट सफलता जति लगियो।

14 “कुनै मानिस यदि सङ्कटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ।
    यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।
15 तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ।
म तिमीहरूमाथि आश्रित हुन सक्तिनँ।
    तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ।
    तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।
16 जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
17 अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ,
    पानी बहन रोकिन्छ।
    अनि खोलाहरू सुक्छन्।
18 व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँछन्।
    तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।
19 तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्।
    शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्।
20 तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन
    तर तिनीहरू निराश हुन्छन्।
21 अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ।
तिमीहरूले मेरो सङ्कटहरू देखेर भयभीत छौ।
22 के मैले तिमीहरूलाई सहायता मागे? होइन।
    तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।
23 के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ?
    निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’

24 “यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु।
    मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरें?
25 ईमान्दार वचनहरू शक्तिशाली हुन्छन।
    तर तिम्रो तर्कहरूको के मतलब छ।
26 जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने
    के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?
27 तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ
    जुन ती बाबु हीन नाबालकहरूका हुन्।
    तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।
28 तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ।
    म तिमीहरू प्रति झूटो हुने छैन।
29 यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर।
    मैले कुनै गल्ती काम गरेको छैन।
30 म झूटो बोलिरहेको छैन।
    अनि म झूटोबाट सही के हो जान्दछु।”

अय्यूबले भने,

“मानिसले पृथ्वीमा कठोर सङ्घर्ष गर्छ।
    उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।
मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ।
    मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।
त्यसरी नै मैले महिनौंसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ
    अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।
जब म सुतें, मैले सोचें,
    ‘कतिन्जेल मैले सोच्ने, जबसम्म म उठ्दिनँ?’
तर रात लामो छ।
    अनि घाम नझुल्कुन्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।
मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ।
    मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

“मेरो दिनहरू जुलाहा तानको धागो झैं चाँढो-चाँढो वितिरहेको छ
    अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो।
    म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।
अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन,
    तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
बादल विलिन भएर गए जस्तै मानिस मर्छ
    अनि चिहानभित्र गाडिन्छ अनि ऊ फेरि फर्की आउँदैन।
10 ऊ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन
    उसको घरले फेरि उसलाई चिन्ने छैन।

11 “यसैले म चुपचाप रहने छैन।
    म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ।
    म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
12 के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ?
    परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?
13 मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ,
    मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।
14 तर परमेश्वर जब म ढल्किन्छु
    सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।
15 यसर्थ म यसरी बाँचिरहनु भन्दा
    गला अँठ्‌याएर मर्न चाहन्छु।
16 म आफ्नो जीवनलाई घृणा गर्छु।
    म चीरकालसम्म बाँच्न चाहन्न।
मलाई एक्लै छाडी दिनुहोस्
    मेरो जीवनको अर्थ नै छैन।
17 परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ?
    किन तपाईंले उसको सम्मान गर्नुपर्छ?
    किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?
18 किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ?
    अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?
19 परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न।
    तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।
20 परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ।
    यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्नु पर्छ?
किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो?
    के म तपाईंको निम्ति एक समस्या भएको थिएँर?
21 किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन?
    किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन?
    चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु।
तब तपाईंले मलाई खोज्नु हुनेछ
    तर म गइसकेको हुनेछु।”

1 कोरिन्थी 14:18-40

18 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु। 19 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।

20 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन। 21 व्यवस्थामा लेखिएको छः

“विभिन्न भाषा बोल्ने मानिसहरू लिएर,
    अनि विदेशीहरूकै ओठ चलाएर,
म तिनीहरूसित बोल्छु।
    तथापि तिनीहरूले मलाई सुन्दैनन्।”(A)

प्रभु त्यसै भन्नुहुन्छ।

22 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन। 23 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्? 24 तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबुझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट ऊ जाँचिन्छ। 25 त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”

तिम्रो सभाहरूले मण्डलीको मद्दत गरोस्

26 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो। 27 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन्। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ। 28 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।

29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ। 30 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ। 31 तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ। 32 अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ। 33 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।

34 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ। 35 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।

36 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ। 37 यदि कसैले आफू अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो। 38 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।

39 यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँच्चो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड। 40 तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढङ्गले गरिनु पर्छ।

भजनसंग्रह 37:30-40

30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
    उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
    अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।

32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
    जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
    परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
    परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
    उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।

35 मैले एक बलवान कपटी मान्छे देखें।
    ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
    मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
    शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
    अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
    जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
    धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
    अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।

हितोपदेश 21:27

27 दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन् घृणित हुन जान्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International