Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 26-28

उज्जियाह यहूदाका राजा

26 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो। उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।

उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्। उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। उज्जियाहले परमेश्वरको अनुशरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।

उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए। परमेश्वरले उज्जियाहलाई पलिश्तीहरू अनि गुर-बलमा बस्ने अरबीहरू अनि मूनीहरूको विरूद्धमा युद्ध गर्नमा सहायता दिनुभयो। अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।

उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए। 10 उज्जियाहले मरुभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।

11 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए। 12 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए। 13 ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे। 14 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए। 15 यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा-टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।

16 तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए। 17 पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए। 18 तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा-पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”

19 तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्‌यो। 20 अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो। 21 उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।

22 उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए। 23 उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।

यहूदाका राजा योताम

27 योताम राजा हुँदा पच्चीस बर्षका थिए। तिनले यरूशलेममा सोह्र बर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्। योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराम्रा काम लगातार गरिरहे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे। योतामले यहूदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गढहरू अनि किल्लाहरू निर्माण गरे। योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक बर्ष तीन बर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000 मुरी[a] गहुँ अनि 10,000 मुरी जौं दिए।

योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे। योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। योताम पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।

आहाज यहूदाका राजा

28 आहाज बीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो। आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुशरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे। आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए। आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।

5-6 आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे। पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए। जिंक्री एप्रैमका एक साहसी सैनिक थिए। जिंक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।

इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए। तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ। 10 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ। 11 मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”

12 तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए। 13 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”

14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए। 15 ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।

16-17 त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे। एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अश्शूरका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे। 18 पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।

19 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए। 20 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए। 21 आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।

22 आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए। 23 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।

24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना-कुनामा राखे। 25 यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।

26 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्। 27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

रोमी 13

सरकारको शासकहरूको आज्ञा मान्नु

13 तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। यसैले जो शासकहरूको विरोधमा जान्छ ऊ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ ऊ दण्डित हुनेछ। ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो। तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।

अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्। तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।

अरूलाई प्रेम गर्नु नै व्यवस्था हो

तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ। म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।”(A) यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”(B) 10 प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

11 मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। 12 “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ। 13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। 14 त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

भजनसंग्रह 23

दाऊदको भजन।

परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

हितोपदेश 20:11

11 एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International