Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 24-25

योआशले फेरि मन्दिर निर्माण गर्छन्

24 योआश सात बर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्। योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे। यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।

तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे। योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति बर्ष तिर्ने धन सँग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।

यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”

विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।

राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे। तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो। 10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन। 11 तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यसकै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन सँग्रह गरे। 12 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।

13 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए। 14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।

15 यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 बर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो। 16 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।

17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने। 18 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए। 19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।

20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’”

21 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्‌यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुन्जेल मानिसहरूले तिनलाई ढुङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे। 22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”

23 बर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए। 24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए। 25 जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्‌यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।

26 ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्। 27 योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू सम्बन्धी व्याख्या नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।

यहूदाका राजा अमस्याह

25 अमस्याह पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्‌दान थियो। यहोअद्‌दान यरूशलेमकी थिइन्। अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्। अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए। तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किनकि तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”

अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए। अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए। तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न। यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।” अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”

10 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए।

11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे। 12 यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए।

13 तर त्यस समयमा अमस्याहले ती सोनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।

14 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले। 15 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।”

16 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”

17 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।

18 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो। 19 तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।”

20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएलद्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुशरण गर्ने देवताहरूको अनुशरण गरे। 21 यस कारण इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुखी भेट गरे। बेत-शेमेश यहूदामा छ। 22 इस्राएलले यहूदालाई परास्त गरे। यहूदाका हरेका मानिस आफ्ना घर तिर भागे। 23 योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात[a] लामो अंश भत्काइ दिए। 24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।

25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र बर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए। 26 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 27 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए। 28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।

रोमी 12

परमेश्वरलाई तिमीहरूको जीवन देऊ

12 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर। हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। 10 एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। 11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। 12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। 13 परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

14 ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। 15 जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। 16 परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।

17 यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर। 18 सबैसँग शान्तिसित बस्ने चेष्टा गर। 19 हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ,

“दण्ड़ दिने काम मेरो हो,
    म साटो फेर्ने छु।”(A)

20 यसर्थ तिमीहरूले यसो गर्नुः

“यदि तिम्रो शत्रु भोको छ भने,
    उसलाई खुवाऊ।
यदि तिम्रो शत्रु प्यासा छ भने,
    उसलाई पानी देऊ।
यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”(B)

21 दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।

भजनसंग्रह 22:19-31

19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
    मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
    मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
    साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।

22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
    महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
    हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
    हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
    परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
    यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
    उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।

25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
    ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
    तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
    तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
    र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
    उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
    वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
    तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
    मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
    परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

हितोपदेश 20:8-10

जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

10 परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International