Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 19-20

19 यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्कि आए। दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो। तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुशरण गर्ने निश्चय गर्नु भयो।”

यहोशापातले न्यायकर्ताहरू चुने

यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए। यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने। योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ। अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”

अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए। यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ। 10 तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाइहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।

11 “अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिमीहरूसाथ रहून् तिमीहरूले त्यही गर्नु जे गर्न उचितछ।”

यहोशापातले युद्धको सामना गर्छन्

20 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए। केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” (हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।) यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। तिनले भने,

“हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’

10 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। 11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। 12 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”

13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। 14 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा। 15 यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो। 16 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। 17 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’”

18 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे। 19 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।

20 यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिंड्न थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”

21 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए,

“परमप्रभुको स्तुति गर!
    किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”

22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू जो यहूदा माथि आक्रमण गर्न आएका थिए। 23 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक-अर्कालाई पनि मारे।

24 यहूदाका मानिसहरू मरुभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइईँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्। 25 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए। 26 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका-बेंसी” भन्छन्।

27 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए। 28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।

29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो। 30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।

यहोशापातको शासनको अन्त

31 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस बर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस बर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। 32 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुशरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे। 33 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमेश्वरको अनुशरण गर्न देखि हटाएनन्।

34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।

35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे। 36 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए। 37 तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्।

रोमी 10:14-11:12

14 तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। 15 तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”(A)

16 तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”(B) 17 यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।

18 तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ,

“तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्।
    तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”(C)

19 फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्,

“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन।
    एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”(D)

20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्:

“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्,
    तिनीहरूले नै मलाई पाए।
जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”(E)

21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ,

“सारा दिन मैले ती मानिसहरूलाई पर्खें,
    तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”(F)

आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन

11 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”(G) तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”(H)

यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्। जस्तो धर्मशास्त्रमा लेखिएको छ,

“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”(I)

“परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्,
    उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्।
अझसम्म त्यही भइरहेछ।”(J)

अनि दाउद भन्छन्,

“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्।
    तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्।
    अनि ती सदा कष्टमा परिरहुन्।”(K)

11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। 12 यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

भजनसंग्रह 21

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
    जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
    हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।
    तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
    तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
    तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
    जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ।
राजाले परमप्रभुमाथि भरोसा राख्छ।
    सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
    जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
    तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
    उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिंदछन्।
    आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
    तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।
11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
    तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो।
    तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो,
    तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।

13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!
    हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

हितोपदेश 20:4-6

एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेट्न सक्छ?

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International