Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 11-13

11 जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे। तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो, “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः परमप्रभु यसो भन्नु हुन्छः ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हुँ।’” यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।

रहबामले यहूदालाई शक्तिशाली बनाउँछ

रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले। तिनले बेतलेहेम, एताम, तको, बेतसर, सोको, अदुल्लाम, गात, मरेशा, जीप, अदोरेम, लाकीश, अजेका, 10 सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो। 11 जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आपूर्तिको व्यवस्था पनि गरिदिए। 12 रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।

13 इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले। 14 लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।

15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने। 16 जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए। 17 ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन बर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुशरण गरे।

रहबामका परिवार

18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए। 19 महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम। 20 तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत। 21 रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।

22 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए। 23 रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आपूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।

मिश्रदेशका राजा शीशकले यरूशलेममाथि आक्रमण गर्छन्

12 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

रहबामको राज्यकालको पाँचौं बर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्। शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए। शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।

तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्यागेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिनानै तँलाई शीशकको सामना गर्न छोड्ने छु।’”

तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो।

परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन। तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”

शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए। 10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए। 11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।

12 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।[a]

13 राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस बर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र बर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्। 14 रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।

15 रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकाल भरी युद्ध चलिरह्यो। 16 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

अबियाह यहूदाका राजा

13 जब राजा यारोबाम अठाह्रौं बर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए। अबियाह तीन बर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो। अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।

तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन। तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करारद्वारा यो दिनु भएको हो। तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए। तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभव हीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।

“अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरूसँग धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनका बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए। तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ- ती ‘झूटा देवताहरूको’ सेवा गर्ने पूजाहारी।

10 “तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्। 11 तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उज्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमीहरूले उहाँलाई त्यागेका छौ। 12 परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”

13 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए। 14 जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए। 15 त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरूद्वारा परास्त भए। 16 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो। 17 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए। 18 यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।

19 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका स-साना गाउँहरू अधिकारमा ल्याए।

20 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो। 21 अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए। 22 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।

रोमी 8:26-39

26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। 27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।

28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। 29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो। 30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।

येशू ख्रीष्टमा परमेश्वरको प्रेम

31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,

“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
    मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”(A)

37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।

भजनसंग्रह 18:37-50

37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु
    तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।
    सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,
    युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
40 तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने
    र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,
    तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन।
    तिनीहरूले परमप्रभुलाई समेत गुहारे,
    तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें।
    तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए।
    मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।

43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्।
    मलाई जातिहरूका अगुवा बनाउनु होस्।
    मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्।
44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।
    ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
45 ती विदेशीहरू डरले काम्नेछन्।
    तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।

46 परमप्रभु जीवित हुनुहुन्छ,
    म मेरो चट्टानलाई प्रशंसा गर्छु।
    किनभने उहाँ महान् हुनुहुन्छ!
47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।
    उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
48     हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए,

तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो।
    मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।
    यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।

50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ!
    उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ।
    उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।

हितोपदेश 19:27-29

27 हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्‌यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।

28 झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरूद्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।

29 जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ, उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International