Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 1-3

सुलेमान बुद्धिका निम्ति याचना गर्छन्

सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।

2-3 सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्त्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे। तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरुभूमिमा थिए। दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए। ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए। सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको काँसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे।

त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।”

सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो। अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्। 10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”

11 परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको माग गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको माग गरिनस्। अँहँ तैंले ती कुराहरूका माग गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें। 12 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”

13 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।

सुलेमानले उसको सेना र सम्पत्ति व्यवस्था गर्छन्

14 सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो। 15 यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्न देवदार थिए, तिनीहरू पश्चिमी पहाडी प्रदेशका नेभाराका बृक्ष सरह थिए। 16 सुलेमानले मिश्र देश अनि क्यूएबाट घोडाहरू ल्याए। राजाका व्यापारिहरूले घोडाहरू क्यूएमा किने। 17 सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेल[a] चाँदी दिएर एक रथ र 150 शेकेल[b] चाँदी तिरेर एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।

सुलेमानले मन्दिर र महल निर्माण गर्ने योजना गर्छन्

सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे। सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने,

“तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई पनि सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्। परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा-सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।

“हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु। कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अँहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

“अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ। दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्। मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ। 10 काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो: म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी[c] गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी[d] दाखरस अनि 20,000 पाथी तेल दिने छु।”

11 तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्;

“सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।” 12 हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ। 13 म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु। 14 त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसँग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका निकासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्। 16 अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”

17 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। (यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए।) तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए। 18 सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।

सुलेमानले मन्दिर निर्माण गर्छन्

सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो। सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो बर्षको दोस्रो महीनामा काम शुरू गरे।

सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौंडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए। मन्दिरको सामुन्ने दलानको लम्बाई 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे। सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए। सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए। सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।

त्यस पछि सुलेमानले महा-पवित्रस्थान बनाए। त्यो महा-पवित्रस्थान 20 हात लामो अनि 20 हात चौंडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा-पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा (20,700 किलो ग्राम) थियो। सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए। 10 सुलेमानले महा-पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए। 11 करूब स्वर्गदूतका प्रत्येकका पखेंटा पाँच हात लामा थिए। पखेंटाहरूको मोठ लम्बाई बीसहात थियो। पहिलो करूब स्वर्गदूतको एउटा पंखटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखटाले दोस्रो करूब स्वर्गदतूको एउटा पखेंटा छोएको थियो। 12 अनि दोस्रो करूब स्वर्गदूतको अर्को पखेंटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पखेंटाले अर्को करूब स्वर्गद्वातको पखेंटा छोएको थियो। 13 करूब स्वर्गदूतहरूका पखेंटाहरूले मोठ 20 हात ढाकेको थियो। करूब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए।

14 सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा करूब स्वर्गदूतहरूको चित्र बनाए।

15 सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो। 16 सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100 वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए। 17 त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

रोमी 6

पापको निम्ति मर्नु चाँहि ख्रीष्टको निम्ति जिउनु

हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने? होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं। यसैकारण जब हामी बप्तिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो।

ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं। हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं। जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ।

यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन। 10 हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ। 11 त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।

12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। 13 तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। 14 पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।

धार्मिकताको कमारो

15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन! 16 निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैंलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ। 17 विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो। 18 तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ। 19 म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ।

20 विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। 21 तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। 22 तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ। 23 जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।

भजनसंग्रह 16

दाऊदको मिक्ताम भन्ने भजन।

हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
मैले परमप्रभुलाई भने,
    “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
    प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
    अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
    परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।

तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
    तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
    म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
    हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
    तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
मेरो भाग आश्चर्यपूर्ण छ,
    मेरो उत्तराधिकार अति सुन्दर छ।
म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
    राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

परमप्रभुलाई मैले सधैँ
    आफू समक्ष राखेको छु
    र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
    अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
    तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
    तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
    तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

हितोपदेश 19:20-21

20 उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।

21 मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ तर त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International