Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 28-29

मन्दिरको निम्ति दाऊदका योजनाहरू

28 दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।

राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाइहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें। तर परमप्रभुले मलाई भन्नुभयो, ‘अँहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’

“परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो। परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो। परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु। सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा-सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।’”

दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।

“अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ। 10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।”

11 त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए। 12 दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए। 13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने। 14 दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने। 15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो। 16 पवित्र रोटीको निम्ति प्रयोग गरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोग गर्नुपर्छ सो दाऊदले भने। 17 काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकापी बनाउन कति चाँदी प्रयोग गर्नुपर्ने सो दाऊदले भने। 18 दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेंटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।

19 दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”

20 दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी होऊ अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्। 21 यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”

मन्दिर बनाउनका निम्ति भेटीहरू

29 राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो। मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोड्ने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईँटा, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो सँगमर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु। मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु। मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो। मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”

परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे। यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000[a] असर्फी,[b] 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम। मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए। मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।

दाऊदको सुन्दर प्रार्थना

10 त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः

“परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता,
    सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।
11 महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन।
    किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्।
हे परमप्रभु, राज्य तपाईकै हो
    तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
12 धन अनि सम्मान तपाई बाट नै आउँछन्।
    तपाई सबैमाथि शासन गर्नुहुन्छ।
पराक्रम अनि शक्ति तपाईकै हातमा छन्।
    अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।
13 यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं,
    अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।
14 सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्।
यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्।
    हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
15 किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं।
यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाँयाँ जस्तो
    हामी यसलाई रोक्ने आशा गर्देनौ।
16 हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं।
    हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं।
तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्।
    हरेक थोक तपाईकै हुन्।
17 मेरा परमेश्वर, म जान्दछु
    कि तपाईले आफ्ना मानिसहरूको जाँच गर्नुहुन्छ
अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ।
    म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु।
तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु
    र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।
18 हे परमप्रभु तपाई हाम्रा पुर्खा
    अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ।
कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्।
    तिनीहरूलाई तपाईप्रति धन्यवादी हुनमा सहायता गर्नुहोस्।
19 अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्।
    तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैँ त्यसलाई सहायता गर्नुहोस्।
सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस्
    अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”

20 तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।

सुलेमान राजा हुन्छन्

21 अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेंडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे। 22 त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे।

अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे। 23 तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे। 24 सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।

25 परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।

दाऊदको मृत्यु

26 यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस बर्षसम्म राजा थिए। 27 दाऊद हेब्रोन शहरमा सात बर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस बर्षसम्म राज्य गरे। 28 दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।

29 राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गादद्वारा लिखित पुस्तकहरूमा छन्। 30 ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।

रोमी 5:6-21

जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।

हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। 10 मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ। 11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

आदम र ख्रीष्ट

12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। 13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। 14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।

आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। 15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। 17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। 19 एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्। 20 पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो। 21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

भजनसंग्रह 15

दाऊदको भजन।

हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
    तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
    जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
    उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
    उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
    जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
    यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
उसले कसैलाई ऋण दिन्छ
    तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
    यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने

ऊ सदा परमेश्वरको नजिक हुनेछ।

हितोपदेश 19:18-19

18 सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ, नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।

19 यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International