Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 18:13-19:37

अश्शूर यहूदालाई लिन तयार हुन्छ

13 हिजकियाहको शासनकालको 14औं बर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका सबै शक्तिशाली शहरहरूको विरोधमा युद्ध गर्न गए। सनहेरीबले ती सबै शहरहरू जिते। 14 तब यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एक्लै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिर्न तयार हुनेछु।”

तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिर्नु भने। 15 हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए। 16 त्यस समयमा हिजकियाहले परमप्रभुको मन्दिरको ढोकाहरू र चौखटहरूमा लगाइएका सुन उप्काए। राजा हिजकियाहले नै ती ढोकाहरू र चौखटहरूमा सुन जोड्ने काम गरेका थिए। हिजकियाहले ती सुन अश्शूरका राजालाई दिए।

अश्शूरका राजा मानिसहरू यरूशलेम पठाउँछन्

17 अश्शूरका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिंडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरिको छेऊको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो। 18 यी मानिसहरूले राजालाई बोलाए। हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको महलको हेरचाह गर्दैथे।) शेब्ना (मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) तिनीहरूसँग भेट गर्न बाहिर आए।

19 सेनापतिहरूमध्ये एक जनाले उनीहरूलाई भने, “अश्शूका राजा, महाराजले जे भनेका छन्, हिजकियाहलाई भनः

‘तिमी केमाथि विश्वास गर्दछौ? 20 तिम्रा वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ। 21 तिमी भाँच्चिएको बेतको लौरोको मद्दत लिंदै छौ। यो हिंड्ने लौरो मिश्र हो। यदि कोही मानिस यस लौरोको मद्दत लिन्छ भने यो भाँचिन्छ र हातउँदो गएर घाइते बनाउँछ। मिश्रका राजा त्यस्तै हुन ती मानिसहरूका लागि जो उनलाई विश्वास गर्छन्। 22 हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौ।” तर म जान्दछु हिजकियाहले अग्ला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”

23 ‘अब अश्शूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु। 24 तिमी मेरा मालिकका अधिकारीहरूमध्ये तल्लो स्तरका एक जना अधिकारीलाई परास्त गर्न सक्ने छैनौ। तिमी रथ र घोडाका सैनिकहरूका लागि मिश्रमाथि भर पर्छौ।

25 ‘म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छ “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”’”

26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”

27 तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्रा राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”

28 तब सेनापति जोरसित हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज, अश्शूरका राजाबाट यो सन्देश सुन। 29 राजा भन्दछन्, ‘हिजकियाहलाई मूर्ख बनाउन नदेऊ। उनले तिमीलाई मेरो शक्तिबाट बचाउन सक्दैनन्। 30 हिजकियाहले परमप्रभुप्रति तिमीहरू विश्वास गर्ने बनाउन नसकोस्।’ हिजकियाह भन्दछन्, ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ! अश्शूरकाले राजा यस शहरलाई परास्त गर्ने छैनन्!’ 31 तर हिजकियाहका कुरा नसुन! अश्शूरका राजा यस्तो भन्दछन्:

‘मसित शान्ति सन्धि गर अनि मसँग मिल। तब तिमीहरूमध्ये प्रत्येकले आफ्नो आइफल, आफ्नै अंञ्जीर फल अनि आफ्नै कपको पानी खान सक्ने छौ। 32 तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जान्न। यो ठाउँ अन्न र नयाँ दाखरस, गहुँ र अंङ्गुर र अंडीर, महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। “परमप्रभुले हामीलाई बचाउनु हुनेछ।” 33 के अर्कै राष्ट्रका देवताहरूमध्ये कसैले अश्शूरका राजाबाट उनको देशलाई बचाउन सक्यो? सकेन! 34 हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके? 35 सकेनन् के अरू देशका देवताहरू मध्ये कसैले आफ्नो देश मबाट बचाउन सके? सकेनन् के परमप्रभुले मबाट यरूशलेमलाई बचाउन सक्नुहुन्छ? सक्दैनन्।’”

36 तर मानिसहरू बोलेका थिएनन्। तिनीहरूले सेनापतिलाई एक शब्द पनि भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई आदेश दिएका थिए। उनले भने, “उनलाई केही नभन।”

37 हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अश्शूरका सेनापतिले भनेका थिए।

हिजकियाह अगमवक्ता यशैयाहसित कुरा गर्छन्

19 राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।

हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो। राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं। सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।’”

राजा हिजकियाहका अधिकारीहरू यशैयाहकहाँ गए। यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन। म उसमा आत्मा समावेश गराउँदैछु। उनले खतराको संदेस सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।’”

अश्शूरका राजा हिजकियाहलाई फेरि चेताउनी दिन्छन्

सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए। अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”

यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः 10 “यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ:

‘तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्। 11 तिमीले ती सबै घट्नाहरू सुनेका छौ जो अश्शूरका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्यौ के तिमी बाच्ने छौ? अँहँ! 12 ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्‌तम गरे। 13 हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।’”

हिजकियाह परमेश्वरसित प्रार्थना गर्छन्

14 हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए। 15 हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर, त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो। 16 हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्। 17 हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्‌तम पारे। 18 तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्‌तम पार्न सके। 19 यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”

20 आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।

21 “सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ:

‘सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ।
    उनी तिम्रो हाँसो उडाउँछिन्।
    यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।
22 तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो?
    तिमीले कसको विरूद्धमा कुरा गर्यौ?
तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ।
    तिमीले घमण्ड साथ व्यवहार गर्यौ?
23 तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ,
    “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ।
म लबानोनको भित्रसम्म आएँ मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढालें।
    म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।
24 मैले कुवा खनें र अन्जान ठाउँहरूको पानी पिएँ।
    मेरो खुट्टाको पैतालाले मैले,
    मिश्र देशका खोलाहरू सुकाइदिएँ।”
25 त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो?
मैले धेरै अघि यो योजना गरें
    प्राचीनकाल देखि नै मैले यो योजना गरे।
    अनि अब, मैले यो हुन दिएको छु।
मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ
    अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।
26 शहरका मानिसहरूमा शक्ति थिएन।
    मानिसहरू डराएका अनि अल्लमल परेका थिए।
तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए।
    तिनीहरू घरका छानामा
उम्रिएका घाँस जस्तै नै भए
    अग्लो हुनु अघि नै मर्ने।
27 म जान्दछु तिमी कहिले बस्छौ
म जान्दछु तिमी कहिले लडाईँ गर्न जान्छौ
    अनि कहिले तिमी घर फर्किन्छौ।
    अनि म जान्दछु
कहिले तिमी ममाथि रिसाएको हुन्छौ।
28 पक्कै तिमी मसँग रिसाएका थियौ।
    मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने।
यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु
    र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु।
तब म तिमीलाई चारैतिर घुमाउनेछु
    र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।’”

हिजकियाहलाई परमेश्वरको संन्देश

29 “यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस बर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को बर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो बर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ। 30 यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्। 31 किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।

32 “यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छः

‘ऊ यस शहरमा आउने छैन।
    ऊ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन।
ऊ यस शहरमा आफ्नो ढाल ल्याउने छैन।
    ऊ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।
33 ऊ जुन बाटो आउँछ त्यही बाटो फर्किनेछ,
    ऊ यस शहरमा आउने छैन।
परमप्रभु यसो भन्नुहुन्छ,
34 म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु
    म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।’”

अश्शूरको सेना नष्ट गरिन्छ

35 त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।

36 यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे। 37 एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्‌दोन उनीपछि नयाँ राजा भए।

प्रेरित 21:1-17

पावल यरूशलेम जाँदछन

21 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं। पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।

हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो। हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसँगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए। तर जब हामीले त्यहाँको भ्रमण शेष गर्यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गर्यौ। त्यसपछि हामीले विदा लिएर जहाजमा चढ्यौ। चेलाहरू घर फर्के।

हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसँग एकदिन बस्यौं। अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए। उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।

10 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदियाबटा आए 11 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पेटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, ‘यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।’”

12 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं। 13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!”

14 हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”

15 त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं 16 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यहीं बस्यौं।

पावल याकूबलाई भेट गर्न जाँन्छन्

17 यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।

भजनसंग्रह 149

परमप्रभुको प्रशंसा गर।

परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ!
    महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्।
    सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै,
    परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
    परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो।
    उहाँले तिनीहरूलाई बचाउनु भयो!
हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ।
    सुत्न गइसके पश्चात् पनि खुसी होऊ।

मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून्
    अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
    ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
परमेश्वरका मानिसहरूले ती राजा,
    र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।
परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्
    परमेश्वरले गर्नु भएको आज्ञा जस्तै,
    परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 18:8

मानिसहरू सधैँ बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International