Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 1

अदोनियाह राजा हुन इच्छुक

राजा दाऊद साह्रै बूढा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी तातिएनन्। यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।” यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए। युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।

5-6 अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह साह्रै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजू अब्शालोम पछि भएको थियो, तर अदोनियाह साह्रै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको साह्रै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे। राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैंले किन यस्तो व्यवहार गर्दैछस्?”

अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए। तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।

एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेंडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए। 10 तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।

नातान र बतशेबा सुलेमानको पक्षमा

11 तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्। 12 तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन सङ्कटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु, 13 राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’ 14 तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।”

15 यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई। 16 बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?”

17 बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’ 18 अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्। 19 अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेंडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन। 20 हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्। 21 तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठहरिनेछौं।”

22 राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए। 23 चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए। 24 अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ? 25 किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेंडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’ 26 तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्। 27 मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”

28 तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।

29 तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु। 30 आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”

31 तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”

सुलेमानलाई नयाँ राजा चुनियो

32 तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए। 33 तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ। 34 त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’ 35 त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”

36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ। 37 मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढ्नेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”

38 यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए। 39 पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले हर्षित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।” 40 तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुइँ थर्किने गरी कराउँदै थिए।

41 त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”

42 जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ-समाचार ल्याएको हुनुपर्छ।”

43 तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ-समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए। 44 राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए। 45 तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो। 46-47 सुलेमान राज-सिंहासनमा बसेका छन्! राजाका अधिकारीहरू राजा दाऊदलाई अभिवादन पनि गर्दैछन्। तिनीहरू भन्दै छन्, ‘राजा दाऊद, तपाईं महान् राजा हुनु हुन्छः अब हामी प्रार्थना गर्छौ, तपाईंको परमेश्वरले सुलेमानलाई पनि महान् राजा बनाउनुहुनेछ। हामी आशा गर्छौ तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौ, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए! राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई ढोग गरे। 48 अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।’”

49 अदोनियाहका सबै अतिथिहरू तर्सिए अनि छिट्टै गए। 50 अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते। 51 तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सींग समाते र पवित्र पालमा बसेको छ अनि छोड्न पनि चाहँदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।’”

52 सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्यो भने उ मारिने छ।” 53 तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”

प्रेरित 4

यहूदी सभा समक्ष पत्रुस र यूहन्ना

जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए। पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए। यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे। तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।

अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? 10 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। 11 येशू हुनुहुन्छ

‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ,
    तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’(A)

12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

13 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। 14 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।

15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। 16 तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। 17 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”

18 यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। 19 तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। 20 हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”

21-22 यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

पत्रुस र यूहन्ना विश्वासीहरूकहाँ फर्किए

23 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। 24 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। 25 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः

‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्?
    यी सबै आशाहिन छन्।

26 ‘पृथ्वीका राजाहरू र शासकहरू,
    परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’(B)

27 यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। 28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। 29 अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। 30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”

31 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

विश्वासीहरूको अंश

32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए। 33 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो। 34 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए। 35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।

36 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए। 37 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

भजनसंग्रह 124

दाऊद मन्दिर गइरहेका बेलाको भजन।

124 मलाई जवाफ देऊ इस्राएल,
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए,
    हामी माथि कस्तो घटना घट्ने थियो होला?
जब मानिसहरूले हामीलाई आक्रमण गरे
    त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,
    जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
हाम्रो शत्रुहरूका सैनिकहरूले
    हामीलाई बाढीले बगाए झैं
    र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।
ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए
    हामीलाई डुबाउने थियो।

परमप्रभुको प्रशंसा गर!
    हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।

हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं।
    जाल फाट्यो अनि हामी मुक्त भयौ!
हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।
    परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

हितोपदेश 16:24

24 आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International