The Daily Audio Bible
Today's audio is from the NET. Switch to the NET to read along with the audio.
बिन्यामीनका मानिसहरूका निम्ति पत्नीहरू प्राप्त गर्नु
21 मिस्पामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियोः “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”
2 इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए। 3 तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”
4 अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए। 5 तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेट्न आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा-शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।
6 तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ। 7 हामीले परमप्रभुको समक्ष एक भाकल गर्यौं। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन सक्छौं?”
8 तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन। 9 इस्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हेर्नलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन। 10 यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एवं केटा-केटीहरू समेतलाई मार। 11 तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले याबेश गिलादका हरेक मानिसलाई मार्नु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदेऊ। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे। 12 ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।
13 तब इस्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिम्मोनको चट्टान नामक स्थानमा थिए। 14 यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।
15 इस्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो। 16 इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु? 17 बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, तिनीहरूका सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नै पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन। 18 तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित बिवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौं ‘कुनै व्यक्ति माथि पनि नराम्रो घट्ना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’ 19 तिनीहरूले भने, ‘हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।’” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ तर लबानोन शहरको दक्षिणमा छ।)
20 यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस। 21 उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक-एकजना जवान स्त्री लेऊ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित बिवाह गर। 22 ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाइहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौ, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरूद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौं भनी शपथ खाएका थियौं। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।’”
23 यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे। 24 तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।
25 ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो।
यहूदाभित्र अनिकाल
1 धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए। 2 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, एप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे।
3 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे। 4 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एउटाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दश बर्ष बसे। 5 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्।
नाओमी घर जान्छिन्
6 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे। 7 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।
8 तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु। 9 म प्रार्थना गर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाँई खाईन अनि ती सबै रून थाले।
10 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौं।”
11 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्। 12 घर फर्कीजाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बृद्धा भइसकेकी छु। यदि म फेरि बिवाह गर्न सक्ने भए ता पनि म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्तैन। 13 तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुन्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
14 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाँई खाईन् अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।
15 नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”
16 तर रूथले भनिन्, “तपाईंलाई छाड्न मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किएर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। 17 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिनँ भने म परमप्रभुसित दण्डको याचना गर्छु, केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”
घर फर्काइ
18 नाओमीले देखिन् कि रूथ तिनीसित जान खूबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्। 19 नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुइ स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”
20 तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ। 21 जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
22 यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबी स्त्री) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौं को बाली कट्ने समयमा बेतेलममा आए।
4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। 6 याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो। 7 एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” 8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
9 सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।
10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। 12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। 14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”
येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। 18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।”
19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। 20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। 22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?”
28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्, 29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?” 30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
32 तर येशूले उत्तर दिनुभयो, “मसँग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
34 येशूले भन्नुभयो, “मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुशरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो। 35 जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्। 36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाईं गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुन्छन्। 37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ। 38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरूले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।” 40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो। 41 तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
42 मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गर् यौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझ्न थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
105 परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर।
सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
2 परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ।
3 परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ।
4 बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
सहायताको लागि सधैँ उहाँकोमा जाऊ।
5 याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
6 तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ।
तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
7 परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
8 परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर।
याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
9 परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो।
परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो,
यो सदा-सर्वदा रहिरहने छ।
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”
12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो।
जब अब्राहामका परिवारहरू स-साना थिए।
तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
13 तिनीहरू एक जातिदेखि अर्को जाति,
एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे।
14 तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन।
परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।
15 परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ।
मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।”
24 ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।
25 साँच्चो गवाहीले जीवनको रक्षा गर्छ, तर झूटो गवाहीले झूटो बोल्छ।
© 2004, 2010 Bible League International