मत्ती 4:1-7
Nepali Bible: Easy-to-Read Version
येशूको निम्ति कठिन परीक्षा
(मर्कूस 1:12-13; लूका 4:1-13)
4 यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। 2 चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। 3 शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”
4 जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ,
‘मानिस रोटी खाएर मात्र बाँच्दैन।
परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”(A)
5 त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। 6 शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ,
‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ,
अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्,
जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’”(B)
7 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ,
‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’”(C)
© 2004, 2010 Bible League International