Añadir traducción en paralelo Imprimir Opciones de la página

परमेश्वरले हारूनलाई प्रधान पूजाहारी निश्चीत गर्नुभयो

17 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख। लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु। ईमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”

त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो। मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।

करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो। मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।

10 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैँ मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।” 11 यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।

12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं। 13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?”