Add parallel Print Page Options

जल-कुण्डको छेउमा भएको मानिसलाई येशूले निको पार्नुभयो

त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ। धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।[a] [b] त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”

त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”

तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो।

त्यस्तो घट्ना भएको दिन विश्रामको दिन[c] थियो। 10 तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

11 तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिँड।’”

12 यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”

13 तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।

14 केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घट्नाहरू नघटोस्।”

15 तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।

16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले। 17 तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।”

18 येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

Read full chapter

Footnotes

  1. 5:3 पद 3 को अन्तमा ग्रीक प्रति-लिपिहरूमा थपिएको छ, “अनि तिनीहरूले पानी हल्लिउन्जेल सम्म पर्खि रहन्थे।”
  2. 5:4 केही पछिका ग्रीक प्रति-लिपिहरूले पद 4 मा थपेको छन्: “कुनै कुनै समयमा स्वर्ग-दूत पोखरीमा आएर पानी हल्लाई दिन्थे। दूतले यसो गरे पछि जो पहिला पोखरी भित्र पस्थ्यो त्यो उसको कुनै पनि विमारबाट निको हुन्थ्यो।”
  3. 5:9 विश्रामको दिन जसको अर्थ “शावाथ दिन” हो। यो यहूदीहरूको हप्ताको सातौं दिन हो। अनि यहूदीहरूका लागि यो बिशेष धार्मिक पर्व पनि हो।