Add parallel Print Page Options

नयाँ शुरु

परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस्। यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसुन्। कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु। जिउँदो पशुहरूको मासुमा जतिन्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु। अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।

“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ,
    कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”

“अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

तब परमेश्वरले नूह र उनका छोराहरूलाई भन्नुभयो, “म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु। 10 म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु। 11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”

12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ। 13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो। 14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ। 15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन। 16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”

17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।”

कष्टहरूको प्रारम्भ

18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए) 19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो।

20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए। 21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्। 22 कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए। 23 तिनीहरू पछिल्तिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्।

24 जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए। 25 तब नूहले भने,

“कनानलाई सराप लागोस्,
    ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।”

26 तब नूहले भने,

“शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्।
    कनान उसको दास बनियोस्।
27 परमेश्वरले येपेतको विकास गराई दिऊन्,
    अनि येपेत शेमको पालहरूमा बसोस्,
    अनि कनान उसको कमारा होस्।”

28 नूह जल प्रलयपछि 350 बर्ष बाँचे र मरे। 29 यसर्थ नूह जम्मा 950 बर्ष बाँचे र मरे।

राष्ट्रहरू बढ्दै गए अनि फिंजिए

10 नूहका छोराहरू शेम, हाम र येपेत थिए र यिनीहरूको पारिवारिक इतिहास यही हो। नूहको छोराहरूका धेरै सन्तानहरू भए।

येपेतका सन्तानहरू

येपेतका छोराहरू थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

गोमेरका छोराहरू थिए अशकनज, रीपत र तोगर्मा।

याबानका छोराहरू थिए; एलीशा, तर्शोश, कित्तीम र दोदानीम।

तिनीहरूबाटै समुद्रतट वासीहरू फिंजिए। तिनीहरूको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरू थिए।

हामका सन्तानहरू

हामका छोराहरू थिए: कूश, मिश्र, पूत र कनान।

कूशका छोहरू थिए: सबा, हवीला, सबता, रामा र सबतका।

रामाका छोराहरू थिए: शबा र ददान।

निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए। परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”

10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो। 11 यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरू बनाए। 12 कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरू मध्ये कालह सबै भन्दा ठूलो थियो।

13 मिश्र, लूद, अनाम, लहाब, नप्तूह, 14 पत्रुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिश्ती मानिसहरू कसलूका सन्तान थिए।)

15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए। 16 कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, 17 हिब्बा, अर्कोत र सिनीत मानिसहरू, 18 अर्वादी, समारी र हमाती मानिसहरू उत्पन्न भए।

यसरी कनानका सन्तानहरू संसारका जताततै फिंजिए। 19 कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।

20 ती सब मानिसहरू हामका सन्तान थिए र ती सबै मानिसहरूको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरूको एउटा अलगै राज्य थियो।

शेमका सन्तानहरू

21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरूमा एक जना एबेर सबै हिब्रू मानिसहरूका पिता थिए।

22 शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

23 अरामका छोराहरू ऊज, हुल, गेतेर अनि मश थिए।

24 अर्पक्षद शेलहका पिता थिए,

शेलह एबेरका पिता थिए,

25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।

26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह, 27 हदोराम, ऊजाल, दिक्ला, 28 ओबाल, अबमाएल, शबा, 29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरू योक्तानका छोराहरू थिए। 30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।

31 ती मानिसहरू शेमको परिवारका थिए। तिनीहरू आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्ट्रमा गठित थिए।

32 नूहका सन्तानको वंश अनुसार तिनीहरूका जातिहरू यी नै थिए। यिनीहरू आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरू फिंजिएका थिए।

संसारको विभाजन

11 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए। जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे। तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई सँगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो। तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्। यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकुन्।”

यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

शेमको पारिवारिक इतिहास

10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ बर्षपछि शेम जब एक सय बर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए। 11 अर्पक्षद जन्मेपछि शेम पाँच सय बर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।

12 जब अर्पक्षद पैतीस बर्षका भए तिनको एउटा छोरो जन्मियो जसको नाउँ शेलह थियो। 13 शेलह पछि अर्पक्षद चार सय तीन बर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।

14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो। 15 एबेर जन्मेपछि शेलह चार सय तीन बर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।

16 एबेर चौंतीस बर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो। 17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।

18 पेलेगको उमेर तीस बर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो। 19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ बर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

20 रऊको उमेर बत्तीस बर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो। 21 सरूगको जन्म पछि रऊ अर्को दुइ सय सात बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। 23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

24 नाहोरको उमेर उन्तीस बर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो। 25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

26 तेरहको उमेर सत्तरी बर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।

तेरहको पारिवारिक इतिहास्

27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। 28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए। 30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।

31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिँडे। तर तिनीहरू हारानसम्म गई त्यहीं बसो-बास गर्न थाले। 32 तेरह दुइ सय पाँच बर्षसम्म बाँचे र हारानमा मरे।