Add parallel Print Page Options

32 “हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी!
    मेरो मुखको वचनहरू सुन।
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्।
    भूईँमा खस्ने तुषारो
जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी
    जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
किनभने म परमप्रभुको नाउँ घोषणा गर्छु,
    हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।

“उहाँ चट्टान हुनुहुन्छ,
    कारण उहाँका बाटाहरू सही छन्,
    परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ।
उहाँ असल,
    र इमानदार हुनुहुन्छ।
अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ,
    तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ,
    कारण तिमीहरू धूर्त झूटा छौ।
के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा
कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ?
    होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ।
परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ।
    उहाँले तिमीहरूको सृष्टि गर्नुभयो।
उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ।
    उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।

“उहिले नै के भएको थियो सम्झना गर,
    धेरै-धेरै बर्षअघि भएका कुराहरू सम्झना गर।
तिमीहरूका पितालाई सोध
    तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी
    प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो।
परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो,
    जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
परमप्रभुको निज हिस्सा उहाँका
    मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

10 “परमप्रभुले याकूबलाई बीरानो
    अनि बतासले भरिएको मरुभूमिमा भेट्नुभयो।
परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो।
    उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।
11 इस्राएलको निम्ति परमप्रभु गरूड़ झैं हुनु हुन्थ्यो।
    गरूड़ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ,
सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उड्छे।
    उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पखेंटा फिँजाउँछे।
अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे।
    परमप्रभु त्यस्तै हुनुहुन्छ।
12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन्
    परमप्रभु एक्लैले याकूबको नेतृत्व गर्नु भयो।
13 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो
    अनि याकूबले खेतको उब्जनी लगे।
परमप्रभुले उसलाई पहराको मह दिनुभयो,
    अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट
    र भेंडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो;
उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेंडाहरू र अति असल गहुँ दिनुभयो।
    इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।

15 “तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने।
    (हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ।)
तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे,
    अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे।
    तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए।
    त्यो तिनीहरूले जान्दैन थिए,
    ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोड्यौ
    तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।

19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो।
    उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
20 यसकारण परमप्रभुले भन्नुभयो,
‘म तिनीहरूलाई त्याग गर्नेछु
    तब हेरौं के हुन्छ!
तिनीहरू विद्रोही मानिसहरू हुन्।
    तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिक्दैन।
21 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन्
    तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए।
म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्।
    म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
22 मेरो रीस आगो जस्तै बल्नेछ।
    चिहानको तल्लो सतहसम्म बलेर।
पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै
    बलेर पहाडको तलसम्म जलाई दिन्छु।

23 “‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु,
    म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
24 तिनीहरू भोकले, दुर्बल हुनेछन्
    अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्।
तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु।
    विषालु सर्पहरू र छेपाराहरूले तिनीहरूलाई टोक्ने छन्।
25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्।
    तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्।
सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्।
    तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरूलाई मार्नेछन्।

26 “‘मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें।
    यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्।
    शत्रुहरूले बुझ्ने छैनन्।
तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्,
    “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन
    हामीले हाम्रै शाक्तिले जित्यौं।”’

28 “इस्राएलका मनिसहरू मूर्ख छन्,
    तिनीहरूले केही बुझ्दैनन्।
29 यदि तिनीहरू ज्ञानी भए
    तिनीहरूले बुझ्ने थिए,
    तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
30 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेट्न सक्छ?
    के दुइजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सक्छन्?
यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ।
    यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
31 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन
शत्रुहरूलाई पनि यो थाहा छ।
32 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ।
तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
33     तिनीहरूको दाखरस सर्पको विष झैं छ।

34 “परमप्रभु भन्नुहुन्छ,
‘म त्यस दण्डलाई साँच्दैछु।
    मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।
35 तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति,
म नै तिनीहरूलाई दण्ड दिन्छु।
    तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु
    जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्।
तिनीहरूको निम्ति कष्टको समय नजिकै छ।
    तिनीहरूको दण्ड चाँडै आउनेछ।’

36 “परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ।
    तिनीहरू उहाँका सेवकहरू हुन्
    अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ।
उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ।
    कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि,
    असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
37 तब परमप्रभुले भन्नु हुनेछ,
    ‘झूटा देवताहरू कहाँ छन्?
    त्यो “चट्टान” कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ?
38 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए
    अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए।
यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून्
    तब तिमीहरूको रक्षा गरून्।

39 “‘अब हेर, एक मात्र म नै परमेश्वर हुँ!
    अरू कुनै ईश्वर छैन।
म नै मानिसलाई मार्दछु,
    अनि मानिसहरूलाई जीवित पार्दछु,
म मानिसहरूलाई चोट पुर्याउन सक्छु,
    अनि तिनीहरूलाई निको पार्न सक्छु।
कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँन सक्दैन।
40 म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु।
म सधैँ निश्चित हुन्छु
    यी कुराहरू हुनेछन्।
41 म प्रतिज्ञा गर्छु,
    म मेरो चम्किने तरवार उधाउँनेछु,
    मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु।
    म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।
42 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्।
    मेरो काँडहरू तिनीहरूको रगतले रंगीने छन्।
    मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।’

43 “सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ।
    किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ,
    उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्।
उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ।
    अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”

मोशाले मानिसहरूलाई आफ्नो गीत सिकाउँछन्

44 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए। 45 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके, 46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ। 47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सक्छौ।”

मोशा नबो डाँडामा

48 त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो, 49 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सक्छौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु। 50 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरे र आफ्नो मानिसहरूसित मिले। 51 किनभने जब तिमी सीनको मरुभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ’, भनी मानिसहरूलाई बुझाएनौ। 52 यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सक्छौ तर त्यहाँ पस्न सक्दैनौ।”