Add parallel Print Page Options

राष्ट्रबरूकालागि परमेश्वरको सन्देशहरू

46 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

मिश्रका बारेमा सन्देशहरू

यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार बर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश होः

“तिम्रो ठूलो र सानो ढालहरू तैयार पार।
    युद्धको लागि अघि बढ।
घोडाहरू तैयार पार सिपाहीहरू,
    आफ्नो घोडाहरूमाथि चढेर,
युद्धभूमिमा जाऊ।
    लडाइँको टोपहरू लगाऊ।
भालाहरू तीखो पार,
    र झिलम लगाऊ।
मैले के देखें?
    सिपाहीहरू भयभीत छन्,
अनि भागिरहेका छन्।
    ती वीर सेनाहरू,
परास्त भइरहेका छन्।
    पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्।
    त्यहाँ वरिपरि त्रास छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

“फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्।
    बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्।
तिनीहरू सबै ठेस लागेर लड्ने छन्।
    उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
नील नदी जस्तै को आइरहेछ?
    को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?
यो मिश्र हो जो नील नदी झैं आइरहेछ।
    यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ।
मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु।
    म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
हे घोड-सवार सिपाहीहरू, अघिबढ!
    हे रथ हाँक्नेहरू चाँडो हाँक!
हे वीर सिपाहीहरू, अघि बढ!
    कूश र पूटबाट आएका सिपाहीहरू,
तिमीहरू आफ्ना ढालहरू बोक।
    लूदबाट आएका सिपाहीहरू,
    तिमीहरू धनु समाल।

10 “तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले
    आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ।
    त्यो बद्ला लिने दिन हुनेछ।
तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ।
    तिनीहरूको रगतले तरवार भरिनेछ।
यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक,
    सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ।
    अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्।
    तिमी निको हुने छैनौ।
12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्।
    तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ।
एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ
    अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लड्छन्।”

13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

14 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस
    र तहपन्हेसमा घोषणा गर,
र यसो भन्, ‘युद्धको लागि तैयार होऊ।
    किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’
15 तिम्रो गोरू किन फ्याँकिएको छ?
    के त्यो उभिन सक्तैन?
    किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
16 धेरै सिपाहीहरू ठक्करखानेछन् अनि लड्नेछन्।
    तब तिनीहरू परस्परमा भन्नेछन्,
‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ।
    हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा,
टाढो आफ्ना देशमा फर्कौ, हामी भाग्नै पर्छ
    किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
17 उनीहरूको आफ्नै शहरमा, ती सैनिकहरूले भन्ने छन्,
    ‘मिश्रको राजा फिरऊन एक चर्को हल्ला मात्र हो।
    उसको महिमाको समय सक्किएको छ।’”
18 जस्तो म जीवित छु।
    राजा भन्छन्, “यो राजाको नाउँ हो,
सेनाहरूका परमप्रभु आउनु हुनेछ।
    उनी याबेर पर्वत अनि समुद्रको किनारको,
    कर्मेल पर्वत जस्तै महान हुनेछ।
19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर,
    दासत्वको लागि तैयार हौं,
किनभने मेमफिस शहर नष्ट हुनेछ,
    ती सहरहरू नष्टहुनेछन्।
    जन शून्य बेकामे भूमि हुनेछ।

20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो,
    तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।
21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं,
    तिनीहरू सबै पीठ फर्काएर भागे।
    तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्।
तिनीहरूको नाशको समय आईरहेछ।
    तिनीहरू दण्डित हुनेछन्।
22 मिश्र सर्पको झैं आवाज गर्दै
    सुल्किरहेको छ।
किनभने उसको शत्रुहरू तेजले आएकाछन्।
    शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”

23 परमप्रभु भन्नुहुन्छ:
    “तिनीहरूले उसको जङ्गल,
बाक्लो भए पनि फाँड्नेछन्।
    शत्रुका सेनाहरू सलह झैं छन्,
अनि कसैले गन्न सक्तैन।
24 मिश्रकी छोरी लज्जित हुनेछ।
    उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु। 26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”

“यस नष्ट पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

उत्तर इस्राएललाई सन्देश

27 “हे याकूब, मेरो दास! नडराऊ।
    हे इस्राएल, होतोत्साही नबन।
म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर,
    र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु।
याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ,
    अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”
28 परमप्रभु भन्नुहुन्छ,
“हे याकूब, मेरो दास! नडराऊ।
    म तिमीसँग छु।
मैले तिमीलाई जहाँ पठाएको थिएँ,
    ती जाति-जातिहरू सबै नष्ट पार्नेछु।
    तर म तिमीलाई पूर्णरूपले नष्ट गर्ने छैन।
तिमीले गरेको गल्तीको सजाय तिमीले पाउनु नै पर्छ,
    आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु
    र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”