Add parallel Print Page Options

परमप्रभुले भन्नुभयो,
“हे इस्राएलका मानिसहरू!
    यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ।
तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ।
    मदेखि नबरालिओ।
‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ,
    र त्यसलाई सरलता, ईमान्दारी,
    अनि धार्मिकतासित पालन गर्छौ भने,
जाति-जातिहरू परमप्रभुको नाउँद्वारा आफैं धन्य हुनेछन्,
    अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”

परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो:

    “तिम्रा खेतहरू जोत!
    काँढाहरू माझ बीऊहरू नछर।
परमप्रभु अघि आफ्नै खतना गर
    अनि हृदयको अपवित्रता आफैं हटाऊ।
हे यहूदा र यरूशलेमका मानिसहरू हो!
    तिमीहरू परिवर्तित भएनौ भने
मेरो क्रोध अग्नि झैं फैलिनेछ।
    कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन।
यो तिमीहरूको दुष्टकार्यको
    कारण यस्तो हुनेछ।”

उत्तरदेखि महाविपद्

“यहूदाका मानिसहरूलाई यो सन्देश देऊ:

यरूशलेम शहरका प्रत्येक मानिसलाई भन:
    ‘राज्यका चारैतिर तुरही फुक।’
चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ।
    सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
सियोन तिर संकेतको झण्डा उठाऊ।
    नपर्ख, आफ्नो जीवनको लागि भाग!
यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति
    र ठूलो सत्यनाश ल्याउनेछु।”
एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ।
    जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ।
तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ।
    तिम्रा शहरहरू नष्ट पार्नेछ,
    अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
यसकारण भाङ्गरा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ।
    किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।
परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ,
    राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ,
पूजाहारीहरू भयभीत हुन्छन्
    अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”

10 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”

11 त्यस समयमा यहूदा
    र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ,
“मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट
    तातो हावा बहने छ,
तर तिनीहरूलाई निफन्न
    अथवा सफा पार्नु होइन।
12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ,
    अनि यो मबाट आउँछ।
अब, यहूदाका मानिसहरूका विरूद्ध
    म मेरो न्याय घोषणा गर्नेछु।”
13 हेर! शत्रु बादल झैं आउँदैछ।
    उसको रथ हुरी झैं चल्छ,
    घोडाहरू चीलहरू भन्दा छिटा छन्।
हामीलाई धिक्कार छ, हामी नष्ट भयौं।

14 हे यरूशलेमका मानिसहरू!
    आफ्नो हृदयबाट पापहरू धोई पखाल
ताकि तिमीहरू बाँच्नेछौ।
    कहिल्ये सम्म आफ्नो दुष्ट्याँइसित अड्किरहन्छौ?
15 दानका सन्देशवाहकको आवाज सुन।
    एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ:
16 “जाति-जातिहरूलाई खबर गर।
    यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ।
टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ।
    यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाईँको घोषणा गरिरहेका छन्।
17 तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले
    खेतालाहरूले खेत सुरक्षित पारे झैं
शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्।”
    यो सन्देश परमेश्वरबाट आएको हो।

18 “तिमीहरूले जुन प्रकारले काम गर्यौ,
    अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद् निम्त्यायो।
यो तिम्रो लागि सजाय हो।
    यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”

यर्मियाको विलाप

19 हाय मेरो वेदना, मेरो वेदना!
    म मनोव्यथामा छु! हे मेरो हृदय!
मेरो मुटुले मभित्र प्रहार गरिरहेछ।
    म चूपचाप बस्न सक्तिनँ,
किनभने मैले तुरहीको आवाज सुनेको छु।
    अनि तुरहीले, सैनिकलाई युद्ध तर्फ बोलाइरहेछ।
20 ध्वंसपछि ध्वंस आउँछ।
    सम्पूर्ण देशनै ध्वंस भयो।
हटात मेरा पालहरू पनि ध्वंस भए।
    मेरा पर्दाहरू च्यातिए र तल झारिए।
21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ?
    कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?

22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्।
    तिनीहरूले मलाई चिन्दैनन्।
तिनीहरू अज्ञानी नानीहरू हुन्।
    तिनीहरू बुझ्दैनन्।
तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्,
    तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

विपत्ति आईरहेछ

23 मैले पृथ्वीमा हेरें यो खाली थियो;
    यसमा केही पनि थिएन्।
मैले आकाशमा हेरें,
    अनि यसको प्रकाश धीमा भइसकेको थियो।[a]
24 मैले पर्वतहरूलाई हेरें,
    अनि तिनीहरू कामिरहेका थिए।
    सारा पहाडहरू हल्लिरहेका थिए।
25 मैले हेरें, तर त्यहाँ कोही पनि थिएन।
    अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
26 मैले हेरें, अनि मलिलो भूमि, मरुभूमि भयो।
    त्यस भूमिमा भएका सबै शहरहरू नाश भए।
    यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो।

27 परमप्रभुले यी कुराहरू भन्नुभयो
“सारा देश नै नष्ट हुनेछ।
    तर म पूर्ण रूपले यो भूमिलाई नष्ट पार्ने छैन।
28 त्यसै कारण त्यो भूमि रूनेछ,
    अनि माथि आकाश कालो हुनेछ।
म बोलें अनि परिवर्तन हुने छैन्।
    मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”

29 प्रत्येक शहरले घोडसवारी
    र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ!
केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्,
    कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्।
सबै शहरहरू शून्य हुनेछन्,
    त्यहाँ कोही पनि बस्ने छैन।

30 यहूदा तिमी नष्ट भएकाछौ,
    यसकारण अहिले तिमी के गरिरहेका छौ?
तिमी किन तिम्रो सब भन्दा राम्रो
    रातो वस्त्र लगाईरहेका छौ?
किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ?
    तिमी किन आफैंलाई सुन्दर पारिरहेकाछौ?
    खाली यो समयको बर्बादी हो।
तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन।
    तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु।
    पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो।
    त्यो सियोनकी छोरीले हावाको लागि कष्ट श्वास फेर्दै
र मद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो।
    “हाय! म बेहोश हुन लागेकि छु,
    अनि हत्याराहरू मेरा वरिपरि छन्।”

Footnotes

  1. 4:23 मैले पृथ्वीमा … थियो यर्मियाले पृथ्वीमा मानिस राख्नु भन्दा पहिलेको समयसित आफ्नो देशको तुलना गरिरहेका छन्।